सप्तकोशीमा पानीको बहाव खतराको तहमा, तटीय क्षेत्रमा उच्च सतर्कता


काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेपछि सुनसरी प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

दिउँसो ४ः२० बजेको विवरणअनुसार कोशी ब्यारेजमा पानीको बहाव १ लाख ७६ हजार ८ सय क्यूसेक पुगेको छ। पानीको बहाव निरन्तर बढिरहेको र नदीको पश्चिमतर्फ कटानसमेत सुरु भएकाले जोखिम बढेको प्रशासनले जनाएको छ। हाल कोशी ब्यारेजका ५२ मध्ये १८ वटा ढोका खोलिएका छन्।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्। नदीमा माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने तथा भिडियो बनाउनेजस्ता जोखिमपूर्ण गतिविधि नगर्न प्रशासनले निर्देशन दिएको छ।

सप्तकोशीमा १ लाख ५० हजार क्युसेक पानी पुग्दा पहिलो खतरा संकेतस्वरूप रातो बत्ती बालिन्छ। २ लाख क्युसेकमा दोस्रो र ३ लाख क्युसेकमा तेस्रो बत्ती बालेर उच्च खतराको संकेत दिइन्छ।

गत वर्ष सप्तकोशीमा पानीको बहाव ६ लाख ६१ हजार ५ क्युसेक पुगेको थियो। सन् १९६८ मा भने हालसम्मकै उच्च ७ लाख ८८ हजार २ सय क्युसेक बहाव मापन गरिएको थियो। विशेषज्ञहरूका अनुसार पहाडबाट बगेर आउने बालुवा र लेदो थुप्रिँदा कोशी ब्यारेजको पानी बहन क्षमता घट्दै गएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार