चिलिमेमा भारतीय उद्धार टोली परिचालन


काठमाडौं । बाढीपहिरोका कारण रसुवाको चिलिमे जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदारको खोज तथा उद्धारका लागि भारतबाट आएको प्राविधिक तथा टनेल रेस्क्यु टोली चिलिमे पुगेको छ।

भारतबाट आएको ११ सदस्यीय प्राविधिक टोलीमा डाक्टर, प्यारामेडिक्स र सुरुङ इन्जिनियर छन् भने भारतीय सेनाको २२ सदस्यीय टोली पनि उद्धारमा परिचालन गरिएको छ। टोलीले चिलिमे र लाङटाङ क्षेत्रमा हवाई अनुगमनपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीसँग समन्वय गरी उद्धार कार्य सुरु गरेको छ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोका कारण चिलिमे जलविद्युत् आयोजनाका सुरुङमा लेदो, हिलो र ढुंगामाटो भरिँदा उद्धारमा कठिनाइ भइरहेको छ। आयोजनाका करिब २० जना कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको र ६ देखि ८ जना सुरुङ तथा पावरहाउसभित्र फसेको विवरण छ।

बाढीपहिरोबाट आयोजनामा ठूलो क्षति पुगेपछि २२.१ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। भारत सरकारले उद्धार टोलीसँगै पोर्टेबल जेनेरेटर, खाद्यान्न, पानी शुद्धीकरण ट्याब्लेट र औषधिसहित राहत सामग्रीसमेत नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार