मार्जिन कारोबारमा ब्रोकर सक्रिय, लगानीकर्ता अनिच्छुक


काठमाडौं । मार्जिन कारोबार सेवा विस्तारका लागि ब्रोकर कम्पनीहरूले अर्बौं रुपैयाँको स्रोत जुटाउँदै आक्रामक तयारी गरे पनि लगानीकर्ताको माग भने अपेक्षाअनुसार बढ्न सकेको छैन।

हालसम्म नासा सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट, क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज, नेपाल स्टक हाउस, दक्षिणकाली इन्भेष्टमेन्ट र भिजन सेक्युरिटिज गरी ८ ब्रोकरले मार्जिन कारोबार सेवा सुरु गरेका छन्। चालु आर्थिक वर्षमा थप १८ ब्रोकरले अनुमति पाएसँगै हालसम्म अनुमति पाउने ब्रोकरको संख्या ४९ पुगेको छ।

ब्रोकरहरूका अनुसार घट्दो सेयर बजार, कमजोर लगानीकर्ता मनोबल र नीतिगत अन्योलका कारण कर्जा लिएर सेयर खरिद गर्ने लगानीकर्ताको संख्या न्यून छ। स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका महासचिव भक्तिराम घिमिरेले बजारमा विश्वास र नीतिगत स्थिरता बढेमा मार्जिन कारोबारको माग बढ्ने बताए।

भिजन सेक्युरिटिजका अध्यक्ष राजकुमार तिमिल्सिनाले पनि बजारमा विश्वासको अभावका कारण लगानीकर्ता मार्जिन कर्जा लिन हिच्किचाइरहेको बताए। सेयर बजार घट्दा ब्याजको भारसमेत थपिने भएकाले लगानीकर्ताले आफ्नै पुँजीबाट लगानी गर्न रुचाएको उनको भनाइ छ।

मार्जिन कारोबारका लागि ब्रोकरहरूले बैंक कर्जा जुटाउने क्रमसमेत तीव्र बनाएका छन्। नासा सेक्युरिटिजले ३ अर्ब रुपैयाँ, दक्षिणकाली इन्भेष्टमेन्ट र कोहिनुर सेक्युरिटिजले २–२ अर्ब रुपैयाँ तथा विभिन्न अन्य ब्रोकरले १ अर्बदेखि १ अर्ब ५० करोड रुपैयाँसम्मको बैंक कर्जाका लागि रेटिङ गराएका छन्।

धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ लागू गरेपछि सेवा विस्तारको बाटो खुले पनि बजारमा सकारात्मक वातावरण नबनेसम्म मार्जिन कारोबारले अपेक्षित गति लिन कठिन हुने ब्रोकर तथा लगानीकर्ता प्रतिनिधिहरूको भनाइ छ।

२०८३ भाद्र ९, मंगलवार १४:५५ प्रकाशित
ट्रेन्डिङ समाचार