अर्थतन्त्र चलायमान बनाउन रिइन्जिनियरिङ आवश्यक : श्रेष्ठ


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले मुलुकको अर्थतन्त्रमा सामान्य सुधारले मात्र नपुग्ने भन्दै पुनर्संरचना अर्थात् ‘रिइन्जिनियरिङ’ गर्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १८औँ नाडा अटो शो २०२६ को उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले बजारमा माग विस्तार हुन नसकेको, उद्योग–व्यवसाय सञ्चालन कठिन बनेको र निजी क्षेत्रको मनोबल कमजोर भएको बताए।

सरकारले आगामी ५ देखि ७ वर्षमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने, अर्थतन्त्रको आकार १ खर्ब डलर बनाउने र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखे पनि त्यसअनुसार स्पष्ट रणनीति र कार्यान्वयनको गति नदेखिएको उनको भनाइ छ।

श्रेष्ठले लगानी सुरक्षा, नीतिगत स्थिरता र व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे। उनका अनुसार गत आर्थिक वर्षमा करिब १ खर्ब ६ अर्ब रुपैयाँ बराबरको अटोमोबाइल तथा सम्बन्धित वस्तु आयातबाट राज्यले करिब ८१ अर्ब रुपैयाँ राजस्व प्राप्त गरेको छ।

अटोमोबाइल क्षेत्रलाई केवल आयातको स्रोतका रूपमा नहेरी नेपालमै उत्पादन, एसेम्बलिङ, स्पेयर पार्ट्स तथा कम्पोनेन्ट उद्योग विकास गर्नुपर्ने श्रेष्ठले बताए। उनले करिब २२ अर्ब रुपैयाँ बराबरका अटोमोबाइल स्पेयर पार्ट्स आयात हुने उल्लेख गर्दै आयात प्रतिस्थापनका लागि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

उनले नयाँ उद्योग स्थापना र बन्द उद्योग पुनः सञ्चालनसँगै हाल सञ्चालनमा रहेका उद्योगको संरक्षण र प्रवद्र्धनमा पनि सरकारले समान ध्यान दिनुपर्ने बताए। युवाको विदेश पलायन रोक्न उद्योग विस्तार र स्वदेशमै रोजगारी तथा आम्दानीका अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ छ।

सरकारले अघि सारेको १ खर्ब डलरको अर्थतन्त्र र १२ लाख रोजगारी सिर्जनाको लक्ष्य हासिल गर्न निजी क्षेत्र सहकार्य गर्न तयार रहेको भन्दै श्रेष्ठले त्यसका लागि सरकारले विश्वासिलो लगानी वातावरण सुनिश्चित गर्नुपर्ने बताए।

२०८३ भाद्र ९, मंगलवार १६:५८ प्रकाशित
ट्रेन्डिङ समाचार