काठमाडौं । संयुक्त राज्य अमेरिकाले क्यानाडाली वस्तुमाथि नयाँ शुल्क लगाएपछि दुई देशबीचको व्यापारिक तनाव थप चुलिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने मोटरमा आगामी वर्षदेखि शुल्क बढाएर ५० प्रतिशतसम्म पुर्याउने घोषणा गरेपछि क्यानडाले मङ्गलबार जवाफी कदम घोषणा गर्ने जनाएको छ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले यसअघि अमेरिकी स्टिल, दुग्धजन्य पदार्थ, कृषि उपकरण, कागज र विद्युतीय सामग्रीलगायतमा सेप्टेम्बर ८ देखि प्रतिशोधात्मक शुल्क लगाउने घोषणा गर्नुभएको थियो। उहाँले अमेरिकाले मोटर, स्टिल र आल्मुनियमजस्ता प्रमुख क्यानाडाली उद्योगलाई असर पार्ने अनुचित सर्त अघि सारेको आरोप लगाउनुभएको छ।
क्यानाडाको कुल निर्यातको करिब ७० प्रतिशत अमेरिकी बजारमा जाने भएकाले नयाँ शुल्कले उद्योग र रोजगारीमा असर पार्ने चिन्ता बढेको छ। ओन्टारियोका प्रिमियर डग फोर्डले आवश्यक परे अमेरिकातर्फ निर्यात हुने विद्युत्मा समेत अधिभार लगाउन सकिने चेतावनी दिनुभएको छ।
यसैबीच, दुवै देशले संयुक्त राज्य अमेरिका–मेक्सिको–क्यानाडा स्वतन्त्र व्यापार सम्झौता (युएसएमसीए) संशोधनसम्बन्धी विषय पनि टुङ्ग्याउनुपर्नेछ। पछिल्लो विवादले दुई छिमेकीबीचको आर्थिक तथा राजनीतिक सम्बन्धमा थप तनाव सिर्जना गरेको छ।


