नेपालमा ईभी आयातमा चीनको वर्चस्व


काठमाडौं । नेपालमा आयात तथा बिक्री हुने साना तथा मझौला सवारीसाधनमा विद्युतीय सवारी (ईभी) को हिस्सा करिब ७६ प्रतिशत पुगेको छ। सरकारी तथ्यांकअनुसार नेपालमा ईभी आयातमा चीनको स्पष्ट वर्चस्व देखिएको छ।

भन्सार विभागको आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार नेपालमा २९ अर्ब ६९ करोड रुपैयाँ बराबरको ईभी आयात भएको छ। यसमध्ये चीनबाट २१ अर्ब ४५ करोड र भारतबाट ५ अर्ब ६३ करोड रुपैयाँ बराबरका ईभी आयात भएका छन्। कुल ईभी आयातमा चीनको हिस्सा करिब ७२.२५ प्रतिशत र भारतको १८.९६ प्रतिशत रहेको छ।

नेपालमा बीवाईडी, एमजी, ओमोडा, डोङफेङ, किङलङ र टाटालगायत ब्रान्डका विद्युतीय सवारीको उपस्थिति बढ्दै गएको छ। चीनबाट आयात हुने ईभीको बजार विस्तारसँगै चार्जिङ पूर्वाधारमा समेत चिनियाँ प्रविधिको प्रयोग बढेको छ।

नेपाल विद्युत् प्राधिकरणले प्रमुख राजमार्ग तथा सहरमा स्थापना गरेका ६२ वटा फास्ट डीसी चार्जिङ स्टेसनको आपूर्ति तथा जडानमा पनि चिनियाँ कम्पनी सहभागी छन्। निजी क्षेत्रका ईभी आयातकर्ताले समेत ग्राहक लक्षित चार्जिङ नेटवर्क विस्तार गरिरहेका छन्।

सरकारले इन्धनबाट चल्ने सवारीको तुलनामा ईभीमा भन्सार सहुलियत तथा प्रदेशस्तरमा दर्ता शुल्क र वार्षिक करमा छुट दिँदै आएको छ। यसले नेपालमा विद्युतीय सवारीको आयात र प्रयोग बढाउन थप सहयोग पुगेको देखिन्छ।

२०८३ भाद्र ७, आईतवार १९:५४ प्रकाशित
ट्रेन्डिङ समाचार