टोखा अब धूलोरहित नगर बन्दै, सडकदेखि करिडोरसम्म व्यापक अभियान

ग्राभेल सडक पिच र ढलानदेखि खाल्टाखुल्टी पुर्ने अभियान तीव्र 


काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले नगरलाई धूलोरहित, व्यवस्थित र सौन्दर्ययुक्त बनाउने महत्वाकांक्षी अभियान अघि बढाएको छ। भौतिक पूर्वाधार विकासमा पछिल्लो एक दशकमा उल्लेख्य प्रगति गरेको टोखाले अब सडकको धूलो नियन्त्रणलाई प्राथमिकतामा राख्दै ‘धूलोरहित टोखा’ अभियान अघि बढाउने भएको हो।

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईका अनुसार नगरवासीको स्वास्थ्य, वातावरणीय स्वच्छता र नगरको सौन्दर्यलाई केन्द्रमा राखेर धूलो नियन्त्रणको योजनालाई अभियानकै रूपमा अघि बढाउन लागिएको हो।

“टोखालाई व्यवस्थित र सौन्दर्ययुक्त नगर बनाउनेसँगै नगरवासीको स्वास्थ्यलाई समेत ध्यानमा राखेर धूलोरहित नगर बनाउने अभियान थालिएको हो,” प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने।

ग्राभेल सडक अब पिच र ढलानमा

नगरपालिकाले नगरभित्र रहेका ग्राभेल सडकलाई क्रमशः पिच तथा ढलान गर्ने योजना अघि सारेको छ। सडकमा रहेका खाल्टाखुल्टी पूर्ण रूपमा पुर्ने र सडकको अवस्था सुधार गर्ने कामलाई समेत तीव्रता दिइने नगरपालिकाले जनाएको छ।

नगरभित्रका विभिन्न करिडोरका सडकलाई समेत व्यवस्थित र कालोपत्रे गर्ने लक्ष्य राखिएको छ। सोही योजनाअनुसार विष्णुमती करिडोरको काम करिब ९० प्रतिशत सम्पन्न भइसकेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए।

सडकको स्तरोन्नतिसँगै निर्माण तथा मर्मतका क्रममा उड्ने धूलो नियन्त्रण, सडकको नियमित व्यवस्थापन र नगरको समग्र सौन्दर्य कायम गर्ने विषयलाई समेत प्राथमिकतामा राखिने नगरपालिकाको भनाइ छ।

उपत्यकाका निकायसँग समन्वय

‘धूलोरहित टोखा’ अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति लगायतका सरोकारवाला निकायसँग समन्वय थालेको छ।

टोखाको सीमासँग जोडिएका अन्य स्थानीय तहसँग समेत सडक, करिडोर तथा पूर्वाधार विकासमा आवश्यक समन्वय गरिने नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार एउटा स्थानीय तहको सीमाभित्र मात्र सडक सुधार गरेर धूलो नियन्त्रण गर्न कठिन हुने भएकाले सीमावर्ती स्थानीय तहसँगको सहकार्यलाई समेत अभियानको महत्वपूर्ण पक्ष बनाइनेछ।

पूर्वाधार विकासमा टोखाको छलाङ

टोखा नगरपालिकाले पछिल्लो १० वर्षमा भौतिक पूर्वाधार विकासमा उल्लेख्य उपलब्धि हासिल गरेको दाबी गरेको छ। सडक, पूर्वाधार तथा नगर व्यवस्थापनका क्षेत्रमा भएका कामले टोखाको भौतिक स्वरूपमा समेत परिवर्तन आएको नगरपालिकाको भनाइ छ।

पूर्वाधार विकासमा भएको प्रगतिसँगै नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानलाई समेत तीव्रता दिएको जनाएको छ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले लगातार दुई कार्यकाल नगर प्रमुखको जिम्मेवारी सम्हाल्न सफल हुनुमा नगरमा भएका विकास निर्माणका कामले समेत महत्वपूर्ण भूमिका खेलेको नगरपालिकाको दाबी छ।

 

 

धूलो हटाउनेसँगै सम्पदा र पर्यटनमा जोड

टोखा नगरपालिकाले सडक र भौतिक पूर्वाधारसँगै धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राख्दै आएको जनाएको छ।

ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका दृष्टिले महत्वपूर्ण मानिने टोखाका सम्पदाको संरक्षण, संवद्र्धन तथा प्रचारप्रसारमा समेत नगरपालिकाले विभिन्न योजना अघि बढाएको छ।

नगरपालिकाका अनुसार टोखाको विकासलाई केवल सडक र भौतिक पूर्वाधारमा सीमित नगरी स्वच्छ वातावरण, पर्यटन, संस्कृति, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग जोडेर अघि बढाउने नीति लिइएको छ।

स्वास्थ्यदेखि सौन्दर्यसम्म एउटै लक्ष्य

सडकमा उड्ने धूलोका कारण नगरवासीले विभिन्न स्वास्थ्य समस्या भोग्नुपरेको र धूलोले नगरको सौन्दर्यमा समेत असर पुर्‍याएको नगरपालिकाको निष्कर्ष छ।

त्यसैले अब सडक स्तरोन्नति, खाल्टाखुल्टी व्यवस्थापन, करिडोर विकास र वातावरणीय स्वच्छतालाई एकीकृत रूपमा अघि बढाएर टोखालाई बस्न योग्य र आकर्षक नगरका रूपमा स्थापित गर्ने लक्ष्य नगरपालिकाले लिएको छ।

यससँगै शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका र सामाजिक सशक्तीकरणका क्षेत्रमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले जनाएको छ।

भौतिक पूर्वाधारमा फड्को मारिसकेको टोखाले अब विकासको अर्को चरणका रूपमा ‘धूलोरहित, स्वच्छ र सौन्दर्ययुक्त टोखा’ निर्माणलाई अघि सारेको हो।

२०८३ भाद्र ६, शनिबार १६:३९ प्रकाशित
ट्रेन्डिङ समाचार