काठमाडौं ।नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै सभापति गगन थापाको नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति थापाको नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा आवश्यकताअनुसार सदस्यहरू रहनेछन्।
महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन व्यवस्थापन समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्यलगायत विभिन्न विषयमा उपसमितिहरू गठन गर्नेछ। ती उपसमितिका संयोजक तथा सदस्यहरूको नामावली पछि सार्वजनिक गरिने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।
बैठकले महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रस्तावको जिम्मेवारीसमेत विभिन्न नेताहरूलाई तोकेको छ। सभापति थापाले ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयमा मुख्य राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने निर्णय भएको छ।
त्यस्तै, उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृत्ति र युगानुकूल रूपान्तरणको अभिभारा’ विषयक प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रदेश निर्वाचनसम्बन्धी विशेष प्रस्ताव उपसभापति पुष्पा भुसालले पेश गर्ने तय भएको छ।
संगठनसम्बन्धी प्रस्ताव भने महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गर्नेछन्।
महाधिवेशनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन प्रवक्ता चालिसेको संयोजकत्वमा प्रचारप्रसार समिति पनि गठन गरिएको छ।
यसैबीच, कांग्रेसले पार्टीको विधानलाई समयानुकूल परिमार्जन गर्दै संगठनलाई थप प्रभावकारी बनाउने तयारीसमेत अघि बढाएको छ। त्यसका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने निर्णय बैठकले गरेको छ।
उक्त समितिले पार्टीका विभिन्न तह, निकाय तथा सदस्यहरूबाट सुझाव संकलन गर्नेछ। प्राप्त सुझावका आधारमा विधान संशोधनको प्रस्ताव तयार गरी केन्द्रीय कार्यसमितिसमक्ष पेश गरिने कांग्रेसले जनाएको छ।
महाधिवेशन व्यवस्थापन, राजनीतिक दस्तावेज तयारी, संगठनात्मक प्रस्ताव तथा विधान संशोधनका कामलाई एकैसाथ अघि बढाउने निर्णयसँगै कांग्रेसले १५औँ महाधिवेशनको तयारीलाई औपचारिक रूपमा थप गति दिएको छ।


