काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेनजी आन्दोलन र निर्वाचनपछि बनेको बालेन सरकारप्रति युवाको आशा बढे पनि प्रतिबद्धता पूरा हुन नसक्दा निराशा बढेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले रोजगारी सिर्जना, सुशासन र विदेशिएका युवालाई स्वदेश फर्काउने विषयमा सरकार असफल भएको आरोप लगाए। उनले गणेश नेपाली र विवेक मण्डलले गरेको आत्मदाहलाई युवामा बढ्दो निराशाको ज्वलन्त उदाहरणका रूपमा उल्लेख गरे।
आङ्देम्बेले निर्वाचनअघि रास्वपा सभापति रवि लामिछानेले सरकार बनेको १०० दिनभित्र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने र देशमै रोजगारी सिर्जना गर्ने घोषणा गरेको स्मरण गराउँदै सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि त्यसतर्फ ठोस काम हुन नसकेको बताए।
उनले युवालाई केवल मतदान गर्ने समूहका रूपमा नभई राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्नेमा जोड दिए। विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजी परिचालन गर्न ‘रिटर्नी युवा उद्यमशीलता’सम्बन्धी ठोस नीति आवश्यक रहेको उनको भनाइ छ।


