काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसविरुद्धको कारबाहीलाई तीव्र बनाउँदै सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई घुस रकमसहित पक्राउ गरेको छ।
अख्तियारका अनुसार बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरिसकेपछि भुक्तानी लिन पुगेका जल उपभोक्ता समितिसँग उनीहरूले घुस मागेका थिए। सेवाग्राहीको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले शुक्रबार साँझ विशेष निगरानीसहित कारबाही अघि बढाएको थियो।
कारबाहीका क्रममा बागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुख ढकालको सरकारी क्वाटरमा छापा मार्दा उनी बसेको सोफाबाट सेवाग्राहीसँग लिइएको ७ लाख ५० हजार रुपैयाँ नगद बरामद गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
अख्तियारका अनुसार मेकानिकल अधिकृत तुलाकान्त चौधरीले डिभिजन प्रमुख ढकालकै निर्देशनमा सेवाग्राहीबाट उक्त रकम बुझी सरकारी क्वाटरमा पुर्याएका थिए।
खानतलासीका क्रममा क्वाटरबाट स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ समेत फेला परेको अख्तियारको बर्दिबास कार्यालयका सूचना अधिकारी प्रकाश पोखरेलले बताए। यससँगै बरामद भएको कुल रकम ८ लाख २१ हजार ११५ रुपैयाँ पुगेको छ।
घटनापछि डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीलाई नियन्त्रणमा लिई उनीहरूमाथि थप अनुसन्धान तथा भ्रष्टाचारसम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

