काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन आगामी साउन ११ गते गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। उद्घाटनपछि सुरुङमार्ग ३ महिनासम्म परीक्षण (ट्रायल ओपनिङ) का रूपमा सञ्चालन गरिनेछ। यस अवधिमा सुरुङमार्गको प्राविधिक अवस्था र सुरक्षा प्रणालीको परीक्षण गरिनेछ भने सडक बोर्डले परीक्षण अवधिदेखि नै टोल शुल्क असुल गर्ने जनाएको छ।
२.६८८ किलोमिटर लामो मुख्य सुरुङमार्ग र २.५५७ किलोमिटर लामो आपत्कालीन सुरुङसहितको यो नेपालकै पहिलो सडक सुरुङमार्ग हो। सुरुङभित्र अधिकतम ४० किमि प्रतिघण्टाको गतिमा मात्र सवारी चलाउन पाइनेछ भने पैदलयात्री, मोटरसाइकल, तीनपाङ्ग्रे, साइकल तथा इन्धन, ग्यास र विस्फोटक पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ।
आयोजनाको कुल लागत करिब २४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रा समय उल्लेखनीय रूपमा घट्ने, वार्षिक करिब २ अर्ब ४५ करोड रुपैयाँ बराबरको समय तथा सञ्चालन लागत बचत हुने र नागढुंगा सडकको ट्राफिक चाप पनि कम हुने अपेक्षा गरिएको छ।



