जनकपुरधाम । तीन महिनाअघि मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोको सक्रियतामा जनकपुरधामका मुख्य सडक पेटी र फुटपाथ अतिक्रमणमुक्त गरिए पनि अहिले ती क्षेत्र पुनः पुरानै अवस्थामा फर्किएका छन्। रामानन्द चोक, अस्पताल रोड, पिडारी चोक लगायतका क्षेत्रमा सडक र फुटपाथमा फेरि ठेला तथा व्यापार व्यवसाय फैलिँदा पैदल यात्रु र सवारी आवागमन प्रभावित भएको छ।
स्थानीयवासीले एकपटक सुधारिएको व्यवस्थालाई निरन्तरता दिन नसक्नु सरकारी निकायको कमजोरी भएको बताएका छन्। मधेस प्रदेश सरकार भने स्थानीय तहको असहयोगका कारण सडक व्यवस्थापनलाई निरन्तरता दिन कठिन भएको दाबी गर्छ। जनकपुरलाई पर्यटकीय सहरका रूपमा विकास गर्ने लक्ष्य रहे पनि प्रदेश सरकार र स्थानीय तहबीच समन्वय अभाव हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणले भोग्नुपरेको स्थानीयहरूको भनाइ छ।
२०८३ असार ३०, मंगलवार ०७:३१ प्रकाशित



