काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले १९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत रकम उठाउन बोलकबोल आह्वान गरेको हो। बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत हुनेछ।
निक्षेप संकलन उपकरण आजै जारी गरिने र यसको साँवा तथा ब्याज आगामी असोज २३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।
यस उपकरणमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्।
२०८३ असार २८, आईतवार १५:२५ प्रकाशित



