निजामती अस्पतालको औषधि खरिदमा २ करोड ९१ लाखको भ्रष्टाचार, ८ कर्मचारीविरुद्ध अख्तियारको मुद्दा


काठमाडौं । निजामती कर्मचारी अस्पतालको फार्मेसीमा करोडौं रुपैयाँ बराबरको औषधि अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बुधबार २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बिगो कायम गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। अनुसन्धानबाट अस्पतालको फार्मेसी व्यवस्थापनमा गम्भीर लापरबाही, सार्वजनिक सम्पत्तिको हिनामिना तथा पदको दुरुपयोग भएको निष्कर्ष निकालिएको आयोगले जनाएको छ।

अख्तियारका अनुसार फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी अस्पतालमा औषधि आपूर्ति नै नभएको अवस्थामा समेत सफ्टवेयरमा बिल–बिजक प्रविष्टि गरेका थिए। त्यस्तै, करोडौं रुपैयाँ बराबरका औषधि म्याद गुज्रिएर गोदाममै थन्किएको तथा कम्प्युटर प्रणालीमा मौज्दात देखाइएका औषधि वास्तविक स्टकमा नभेटिएको उजुरीपछि आयोगले विस्तृत अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानबाट फार्मेसी युनिट इन्चार्ज, स्टोरकिपर तथा फार्मेसी सहायकहरूले आफ्नो जिम्मेवारी र अधिकारको दुरुपयोग गर्दै सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्‍याएको पुष्टि भएको आयोगको दाबी छ।

आयोगले अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ अनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यमा खरिद, बिक्री तथा मौज्दातको सन्तुलन परीक्षण (ट्रायल ब्यालेन्स) तयार गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि त्यसको पालना नगरिएको उल्लेख गरेको छ। महालेखा परीक्षकको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदनले समेत उक्त कमजोरी औंल्याएको आयोगको भनाइ छ।

यस्तै, सम्झौताअनुसार बिक्री नभई म्याद गुज्रिएका औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन गराउनुपर्ने व्यवस्था हुँदाहुँदै सम्बन्धित कर्मचारीहरूले ती औषधि फिर्ता नगरी सोधभर्नासमेत नलिएको आरोप लगाइएको छ। आयोगका अनुसार आपूर्तिकर्ताको धरौटी फिर्ता गर्ने क्रममा पनि म्याद गुज्रिएका औषधिबारे गलत विवरण प्रस्तुत गरी धरौटी रकम कट्टा नगरी फिर्ता गरिएको पाइएको छ।

मेडिकल डिभिजन प्रमुखको नेतृत्वमा गठित समितिले गरेको विस्तृत विश्लेषणपछि २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बराबरको सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी भएको निष्कर्ष निकालेको थियो।

यस प्रकरणमा फार्मेसी अधिकृत दीपा ढुङ्गाना, फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी सहायक लबेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा, वरिष्ठ फार्मेसी सहायक विनोद पोखरेल, शर्मीला श्रेष्ठ, फार्मेसी सहायक केशवराज न्यौपाने र सन्दीप तिवारी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम मुद्दा दायर गरिएको छ।

अख्तियारले उनीहरूबाट सम्पूर्ण बिगो असुल–उपर गराई बिगो बराबरको जरिवाना तथा कानुनबमोजिम कैद सजाय हुनुपर्ने माग गर्दै विशेष अदालतमा अभियोगपत्र दायर गरेको जनाएको छ।

२०८३ असार २४, बुधबार २२:२६ प्रकाशित
ट्रेन्डिङ समाचार