बीमा सुधार र रणनीतिबारे विराटनगरमा छलफल


काठमाडौं ।  नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा बजार सुधार, सेवा गुणस्तर अभिवृद्धि र आगामी आर्थिक वर्षको रणनीतिबारे विराटनगरमा ‘राउन्ड टेबल’ छलफल सम्पन्न भएको छ।

छलफलमा कोशी प्रदेशमा कार्यरत जीवन, निर्जीवन, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बीमा सेवामा देखिएका समस्या, जनगुनासा, बजार विस्तार, सेवा सुधार तथा दाबी भुक्तानी प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयकी प्रमुख तथा उपनिर्देशक प्रीति देवले चालु आर्थिक वर्षमा विभिन्न सरोकारवालासँग भएका अन्तरक्रियाबाट प्राप्त सुझाव र समस्याबारे जानकारी गराउनुभएको थियो।

सहभागीहरूले बीमामा नागरिकको विश्वास बढाउन, पहुँच विस्तार गर्न, बजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन तथा नियामक निकाय र बीमा कम्पनीबीच समन्वय थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। आगामी आर्थिक वर्षमा सेवामुखी कार्यशैली र जनचेतना अभिवृद्धिलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।

२०८३ असार २३, मंगलवार ०८:३९ प्रकाशित
ट्रेन्डिङ समाचार