काठमाडौं ।
सरकारी सेवाबाट स्वेच्छिक रूपमा बाहिरिने कर्मचारीको संख्या उल्लेखनीय रूपमा बढ्न थालेसँगै ई–पेन्सन सेवामा आवेदन दिनेहरूको चाप पनि तीव्र बनेको छ। पछिल्लो १५ कार्यदिनको तथ्यांकले अनिवार्य अवकाश लिनेभन्दा राजीनामा दिएर सेवा छाड्ने कर्मचारीको संख्या बढी रहेको देखाएको छ।
राष्ट्रिय किताबखानाका अनुसार चालु आर्थिक वर्षको असार १ गतेदेखि १९ गतेसम्मको १५ कार्यदिनमा १४२ जना अनिवार्य अवकाशमा गएका छन् भने १४६ जनाले राजीनामा दिएर पेन्सन प्रक्रियामा प्रवेश गरेका छन्। यसले सरकारी सेवामा स्वेच्छिक बहिर्गमनको प्रवृत्ति बढ्दो क्रममा रहेको संकेत गरेको छ।
यही कारण ई–पेन्सन सेवामा आवेदनको चाप बढेपछि राष्ट्रिय किताबखानाले आइतबार विदाको दिनसमेत ‘शून्य बाँकी ई–पेन्सन आवेदन’ विशेष अभियान सञ्चालन गरेको छ। अभियानमार्फत हालसम्म फर्छ्योट हुन बाँकी रहेका सबै आवेदन एकै दिनमा टुंग्याउने लक्ष्य लिइएको छ।
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार २०८२ फागुन ८ गतेदेखि सुरु भएको ई–पेन्सन सेवामा हालसम्म ५१७ जना निवृत्त कर्मचारीले अनलाइन आवेदन दिएका छन्। तीमध्ये ४३३ जनाले सेवा प्राप्त गरिसकेका छन् भने ८४ वटा आवेदन प्रक्रिया सम्पन्न हुन बाँकी रहेका छन्।
प्रत्येक दिन नयाँ आवेदन थपिँदै गएको र आर्थिक वर्षको अन्त्यसँगै कार्यबोझ झन् बढेकाले बाँकी रहेका सबै आवेदन आजै फर्छ्योट गर्ने उद्देश्यले विशेष टोली परिचालन गरिएको उनले बताए।
उनका अनुसार आइतबार विदाको दिन पनि सात जना कर्मचारीको विशेष टोली निरन्तर खटिएको छ। असार २५ गतेपछि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मार्फत अवकाशपछिका सुविधा भुक्तानीमा व्यावहारिक कठिनाइ आउन सक्ने भएकाले विभिन्न जिल्लाबाट सेवा पर्खिरहेका निवृत्त कर्मचारीहरूको आग्रहसमेत प्राप्त भएपछि विशेष अभियान सञ्चालन गरिएको हो।
राष्ट्रिय किताबखानाका अनुसार हाल कुल निवृत्त कर्मचारीमध्ये ५० प्रतिशतभन्दा बढीले ई–पेन्सन सेवा रोज्ने गरेका छन्। श्रेणीविहीन कर्मचारीदेखि विशिष्ट श्रेणीका सचिवसम्म यस सेवाबाट लाभान्वित भइरहेका छन्। कार्यालयको दाबीअनुसार अनलाइन प्रणालीले पेन्सन प्रक्रिया छिटो, पारदर्शी र सेवाग्राहीमैत्री बनाएको छ।
महानिर्देशक पोखरेलका अनुसार पछिल्लो समय विभिन्न कारणले राजीनामा दिने कर्मचारीको संख्या निरन्तर बढिरहेकाले ई–पेन्सन सेवामा आवेदनको चाप पनि समानान्तर रूपमा बढेको हो।
पछिल्लो १५ कार्यदिनमा राजीनामा दिएर पेन्सनका लागि आवेदन दिने कर्मचारीमध्ये सहायक स्तरका ७९ जना, शाखा अधिकृत स्तरका २९ जना, उपसचिव स्तरका ३३ जना तथा सहसचिव स्तरका ५ जना रहेका छन्।
यो तथ्यांकले सरकारी सेवामा अनिवार्य अवकाशको परम्परागत प्रवृत्तिभन्दा स्वेच्छिक राजीनामामार्फत सेवा छाड्ने कर्मचारीको संख्या बढ्दै गएको नयाँ संकेत दिएको छ। त्यससँगै डिजिटल माध्यमबाट सञ्चालन भइरहेको ई–पेन्सन सेवाप्रतिको आकर्षण पनि उल्लेखनीय रूपमा विस्तार हुँदै गएको राष्ट्रिय किताबखानाको निष्कर्ष छ।

