काठमाडौं । बाँके जिल्लामा भारतबाट कुखुरा, चल्ला र अण्डाको अवैध आयात नरोकिँदा बर्डफ्लु फैलिने जोखिम बढ्दै गएको सरोकारवालाले बताएका छन्। प्रतिबन्ध भए पनि सीमा क्षेत्रबाट हुने तस्करीका कारण रोग भित्रिन सक्ने खतरा उच्च भएको उनीहरूको भनाइ छ।
नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ ले खुला तथा मुख्य सीमा नाकामा कडाइ नगरे बर्डफ्लु नियन्त्रण बाहिर जान सक्ने भन्दै तत्काल कडा निगरानी आवश्यक रहेको बताउनुभयो।
नेपालगन्जका नागरिक अगुवा हेमन्तराज काफ्ले ले हाल विभिन्न जिल्लामा बर्डफ्लु देखिन थालेकाले बाँके उच्च जोखिममा रहेको उल्लेख गर्नुभयो।
पोल्ट्री व्यवसायीहरूका अनुसार अवैध आयात रोक्न नसके व्यवसायसँगै जनस्वास्थ्यमा पनि ठूलो असर पर्न सक्छ। रजा ग्रुपका सञ्चालक मुख्तार राई र कादरी पोल्ट्री फार्मका सञ्चालक मुनिजर खान ले पनि तत्काल नियन्त्रण आवश्यक रहेको बताएका छन्।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ ले सीमा क्षेत्रमा सुरक्षा निकाय र क्वारेन्टाइनमार्फत निगरानी कडा पारिएको जानकारी दिनुभएको छ।