सचिव–सहसचिवसहित ४ हजार १ सय  कर्मचारी अझै ‘बेपत्ता’ सूचीमा

५२९ कर्मचारीमाथि बर्खास्ती प्रक्रिया, १ हजार ३३० मात्रै सम्पर्कमा आए


सागर पण्डित, काठमाडौं ।

राज्य सञ्चालनको मेरुदण्ड मानिएको निजामती प्रशासनभित्रै हजारौं कर्मचारीको अवस्था अझै अस्पष्ट रहदै आएको छ ।   अध्ययन, असाधारण तथा बेतलबी विदामा गएका र लामो समयदेखि आफ्नो विवरण अद्यावधिक नगरेका सचिव, सहसचिवसहित ४ हजार १ सय  ९९कर्मचारी अझै सरकारी अभिलेखमा ‘सम्पर्कबाहिर’ अवस्थामा  रहेको किताबखाना स्रोतले जनाएको छ ।

विदा सकिएर वर्षौंअघि नै कार्यस्थलमा फर्किएका कर्मचारीले समेत आफ्नो विवरण तालुक निकाय हुँदै राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नगर्दा उनीहरुको आधिकारिक अवस्था अझै अन्योलमै रहेको हो ।

निजामती कर्मचारीको आधिकारिक अभिलेख राख्ने किताबखानाले थालेको खोजी अभियानका क्रममा हजारौं कर्मचारीको विवरण लामो समयदेखि अद्यावधिक नभएको तथ्य भेटिएको हो । किताबखानाका अनुसार विभिन्न प्रकारका विदामा रहेका कुल ७ हजार ५१ कर्मचारीमध्ये सुरुमा ६ हजार ५८ जनाको अवस्था स्पष्ट हुन सकेको थिएन ।

त्यसपछि सरकारले सम्पर्कविहीन देखिएका कर्मचारीलाई तत्काल सम्पर्कमा आउन सूचना जारी गरेको थियो । भूमि व्यवस्था, सहकारी ,  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायत निकायमार्फत सबै मन्त्रालयलाई आफ्ना मातहतका कर्मचारीको अवस्था यकिन गर्न निर्देशन दिइएको थियो ।

खोजीका क्रममा सम्पर्कविहीन देखिएका कर्मचारीमध्ये ठूलो संख्याले कार्यस्थलमा काम गरिरहेको तर आफ्नो विवरण अभिलेखमा अद्यावधिक नगरेको पाइएको छ ।

किताबखानाका अनुसार ४ हजार १ सय  ९९ कर्मचारी कार्यस्थलमा रहेको तर अभिलेख अद्यावधिक नभएको अवस्थामा भेटिएका छन् । उनीहरुले अहिले धमाधम आफ्नो विवरण सच्याउने प्रक्रिया अघि बढाएका छन् ।

राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श्रवणकुमार पोखरेल का अनुसार मंगलबारसम्म १ हजार ३३० कर्मचारीले आफ्नो विवरण अद्यावधिक गराइसकेका छन् ।

“विदा सकिएपछि विवरण अद्यावधिक नगर्ने कर्मचारीको संख्या ठूलो देखिएको थियो । अहिले सम्पर्कमा आउने र विवरण सच्याउने क्रम बढेको छ,” महानिर्देशक पोखरेलले  प्रशासनपोस्टसँग भने    ।

लामो समय देखि वेपत्ता भएका र कार्यथलोमा नआएका ५२९ कर्मचारी भने कारबाहीको सूचीमा परेका छन् लामो समयदेखि सम्पर्कमा नआएका, विदा सकिएपछि पनि कार्यस्थलमा हाजिर नभएका तथा आफ्नो अवस्था स्पष्ट नगरेका कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाइएको हो ।

विभिन्न मन्त्रालय स्रोतका अनुसार  ती कर्मचारीलाई निजामती सेवा ऐनअनुसार बर्खास्त गर्ने प्रक्रिया सुरु गरिएको छ । यसैक्रममा शिक्षा मन्त्रालयले सम्पर्कविहीन अवस्थामा रहेका एक कर्मचारीलाई बर्खास्तसमेत गरिसकेको छ ।

निजामती प्रशासनमा देखिएको यो अवस्थाले कर्मचारी व्यवस्थापन, अभिलेख प्रणाली र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ । राज्यको स्थायी संयन्त्र मानिने प्रशासनभित्रै हजारौं कर्मचारीको वास्तविक अवस्था लामो समयसम्म अस्पष्ट रहनुले सुशासन र प्रशासनिक अनुशासनमाथि प्रश्न उठेको छ ।

२०८३ असार १०, बुधबार १२:२७ प्रकाशित
ट्रेन्डिङ समाचार