सरकारी विज्ञापन नीति खारेजीको माग गर्दै पत्रकारहरूको काठमाडौंमा प्रदर्शन


काठमाडौं । सरकारी सूचना र विज्ञापन केवल सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन गर्ने सरकारी निर्णय खारेजीको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौंमा वृहत् र्‍याली निकालेको छ।

महासंघले सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णयले निजी सञ्चारमाध्यममाथि आर्थिक असर पारेको भन्दै निर्णय फिर्ता लिन माग गरेको छ। पेशागत संगठन र सरोकारवालासहितको ऐक्यबद्धता र्‍यालीमा प्रेस स्वतन्त्रता र सूचनाको हकको संरक्षण गर्नुपर्ने आवाज उठाइएको थियो।

विधिको शासन, नागरिक सर्वोच्चता र पेशागत तथा ट्रेड युनियन अधिकारको रक्षाका लागि शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल(पापड) समेत सहभागी भएर महासंघको आन्दोलनमा ऐक्यबद्धता जनाएको हो ।

प्रदर्शनमा सहभागीहरूले “सञ्चारमाध्यममाथिको आर्थिक नाकाबन्दी फिर्ता गर”, “प्रेस स्वतन्त्रताको सम्मान गर” जस्ता प्लेकार्ड बोकेका थिए। महासंघका महासचिव राम प्रसाद दाहालले ले संविधानले दिएको सूचनाको हकमा राज्यको नियन्त्रण बढेको भन्दै गम्भीर ध्यानाकर्षण भएको  बताए ।

त्यस्तै पापड आबद्ध संघसंस्थाका प्रतिनिधिहरुले विधिको शासन, नागरिक सर्वोच्चताका बिषयमा राज्य जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए ।

२०८२ चैत्र १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै तहको सरकारी विज्ञापन र सूचनाबाट निजी सञ्चारमाध्यमलाई वञ्चित गर्ने विभेदकारी परिपत्र खारेजीको माग राख्दै महासंघ चरणवद्ध आन्दोलनमा छ ।

२०८३ असार ६, शनिबार ०९:२९ प्रकाशित
ट्रेन्डिङ समाचार