गोदावरीमा अतिक्रमण हटाउने क्रममा टेम्पो भिरमा फालियो, विवाद चर्कियो
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–४ बासपानीमा वन अतिक्रमण हटाउने क्रममा डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले सडक किनारमा खुद्रा व्यापारका लागि प्रयोग गरिएको टेम्पो भिरमा खसालेका छन्। उक्त भिडियो सार्वजनिक भएपछि घटना सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ।
टेम्पोमा व्यवसाय गर्दै आएकी स्थानीय धनादेवी धामीले सामान झारेर टेम्पो घर लैजान आग्रह गरे पनि कर्मचारीले नमानेर भिरमा फालेको बताएकी छन्। घटनापछि सर्वसाधारणले आलोचना गरेका छन्।
डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले भने पटक–पटक हटाउन सूचना दिँदा पनि अटेर गरेपछि हटाउने क्रममा विवाद भएको र कर्मचारीमाथि गालीगलौज भएपछि अवस्था नियन्त्रण बाहिर गएको दाबी गरेका छन्। कार्यालयले राजमार्ग क्षेत्रका ४७ वटा अतिक्रमित संरचना हटाइसकेको जनाएको छ।