काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका १०० कार्यसूचि कार्यान्वयनमा केन्द्रित भएर काम गरिरहेको बताएकी छन्।
आइतबार मन्त्रालयमा सञ्चारकर्मीसँगको भेटघाटमा मन्त्री मेहताले प्रधानमन्त्री बालेन्द्र साहको निर्देशनअनुसार उक्त कार्यसूचि सम्पन्न गर्न मन्त्रालयको ध्यान केन्द्रित भएको जानकारी दिइन्। उनले मन्त्रालयमा सुधार गर्नुपर्ने धेरै काम रहेको स्वीकार गर्दै आगामी दिनमा ती कार्यलाई प्राथमिकताका साथ अघि बढाइने बताइन्।
मन्त्री मेहताले अब प्रत्येक १५ दिनमा सञ्चारकर्मीसँग नियमित भेटघाट गरी मन्त्रालयका गतिविधिबारे जानकारी गराइने उल्लेख गरिन्। साथै, विज्ञ, सञ्चारकर्मी तथा सरोकारवालाबाट प्राप्त सुझावलाई आत्मसात गर्दै मन्त्रालयका कमी–कमजोरी सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन्। उनले मन्त्रालयमा आउने गुनासोहरू क्रमशः सम्बोधन गरिने पनि बताइन्।

