कैलाली। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले सङ्घीय, प्रदेश र स्थानीय तहबीचको समन्वय प्रभावकारी बनाउन सङ्घीय संसद्ले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। शनिबार टीकापुरमा आयोजित अन्तर व्यवस्थापिका सम्मेलनलाई सम्बोधन गर्दै उनले सङ्घीय सरकारले आवश्यक कानुन निर्माणमा ढिलाइ गर्दा प्रदेश र स्थानीय तहलाई काम गर्न समस्या भएको बताए।
अध्यक्ष दाहालले प्रदेश र स्थानीय तहलाई संवैधानिक अधिकारअनुसार काम गर्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको उल्लेख गर्दै जनताको भावना अनुसार लोकतन्त्रलाई थप सुदृढ बनाउन तीनै तहको सक्रिय भूमिका आवश्यक रहेको बताए। उनले कानुन निर्माण प्रक्रियालाई तीव्र बनाउन सङ्घीय संसद्ले बढी तदारुकता देखाउनुपर्नेमा पनि जोड दिए।