काठमाडौं। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकार विपक्षलाई समाप्त पार्ने सोचमा लाग्न नहुने बताएकी छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्तामा पुगेपछि अर्को पक्षलाई पूर्ण रूपमा कमजोर बनाउने प्रयास लोकतान्त्रिक अभ्यासविपरीत हुने उल्लेख गरिन्।
कार्कीले प्रधानमन्त्री बालेन्द्र साह तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्तालाई विगतका अनुभव र इतिहासबाट सिकेर मुलुक सञ्चालन गर्न सुझाव दिइन्। उनले सत्तामा रहेका युवा नेतृत्वले आफूहरू सधैं युवा र सत्तामा नबस्ने यथार्थलाई पनि सम्झनुपर्ने बताइन्।
उनले विपक्षी दलहरूलाई पनि सरकारको अनावश्यक विरोध र खुट्टा तान्ने प्रवृत्तिबाट टाढा रहन आग्रह गरिन्। साथै, निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन योगदान दिएको भन्दै कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको प्रशंसा समेत गरिन्।