काठमाडौं ।सरकारले संविधान संशोधनका लागि विभिन्न राजनीतिक दल, सरोकारवाला पक्ष तथा नागरिकसँग छलफललाई तीव्रता दिए पनि संशोधनको स्पष्ट खाका अझै सार्वजनिक हुन सकेको छैन। बरु संविधानका कुन–कुन व्यवस्था संशोधन गर्ने भन्ने विषयमै व्यापक मतभेद देखिँदा प्रक्रिया थप जटिल र अन्योलपूर्ण बन्दै गएको छ।
संविधान संशोधनका नाममा निरन्तर छलफल र परामर्श भइरहे पनि संशोधनको ठोस एजेण्डा स्पष्ट नहुँदा कतिपयले सरकारमाथि प्रश्न उठाउन थालेका छन्। संशोधनका लागि गठन गरिएको कार्यदलले विभिन्न क्षेत्रका व्यक्तिहरूसँग संवाद र परामर्श गरिरहेको भए पनि कुन धारामा के परिवर्तन गर्ने भन्ने विषयमा अझै स्पष्ट निष्कर्ष ननिस्किएको टिप्पणी भइरहेको छ।
यसैबीच संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले नागरिकबाट प्राप्त सुझावको संख्या ४४ हजार ६१३ पुगेको जनाएको छ। सुझावको यो विशाल संख्याले संविधान संशोधनको बहसलाई अझ व्यापक बनाएको छ भने सहमति निर्माणको चुनौती पनि थपिएको छ।
कार्यदलको सचिवालयका अनुसार गत जेठ ८ गते सार्वजनिक सूचना जारी गर्दै संविधानमा आवश्यक सुधार तथा संशोधनका विषयमा नागरिकसँग लिखित सुझाव माग गरिएको थियो। सोही आह्वानअनुसार देश तथा विदेशबाट हजारौँ सुझाव प्राप्त भएका हुन्।
कार्यदलका सदस्यसचिव लिलाधर सुवेदीले १९ हजार २३९ सुझाव इमेलमार्फत तथा २५ हजार ३७४ सुझाव ह्वाट्सएपमार्फत प्राप्त भएको जानकारी दिए। संविधान संशोधन प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सुझाव संकलन गरिएको उनले बताए।
प्राप्त सुझावहरूमा कार्यकारी राष्ट्रपतिको व्यवस्था, संघीय संरचनाको पुनरावलोकन, संवैधानिक निकायहरूको पुनःसंरचना, निर्वाचन प्रणालीमा सुधार, न्यायपालिकामा प्रतिस्पर्धाका आधारमा न्यायाधीश नियुक्ति तथा जनप्रतिनिधिको न्यूनतम योग्यता निर्धारण लगायतका विषय प्रमुख रूपमा उठेका छन्।
सदस्यसचिव सुवेदीका अनुसार कार्यदलले सबै सुझावको अध्ययन तथा वर्गीकरण गरिरहेको छ। तर हजारौँ सुझावमध्ये कुन विषयलाई प्राथमिकता दिने र त्यसलाई राजनीतिक सहमतिमा कसरी रूपान्तरण गर्ने भन्ने चुनौती भने अझै बाँकी छ।
संविधान संशोधनको बहस जति व्यापक बन्दै गएको छ, त्यति नै संशोधनको स्वरूप र दिशाबारे अन्योल पनि बढ्दै गएको देखिन्छ। ४४ हजारभन्दा बढी सुझाव प्राप्त हुनु नागरिक चासोको सकारात्मक संकेत भए पनि यसले संशोधन प्रक्रियालाई थप जटिल र चुनौतीपूर्ण बनाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।


