नेपालले भारतको सीमा मिचेको छैन, ‘क्रस होल्डिङ’लाई मिचिएको भन्नु अज्ञानता हो  : सीमाविद् श्रेष्ठ


  • प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति, सीमा विवाद समाधानका लागि वार्तामा जोड

काठमाडौं । वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालले भारतसँगको कुनै पनि भूभाग मिचेको दाबी अस्वीकार गर्दै सीमा क्षेत्रमा देखिएको अवस्था ‘भू–अधिकार अतिक्रमण’ नभई केवल ‘क्रस होल्डिङ अकुपेसन’ अर्थात् परस्पर भोगचलनको अवस्था मात्र भएको स्पष्ट  पारेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार संसदमा बोल्दै नेपालले पनि भारतको केही भूभाग मिचेको अभिव्यक्ति दिएपछि त्यसको प्रतिवाद गर्दै सीमाविद् श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन् ।सीमाविद् श्रेष्ठले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति अस्वीकार गर्दै सीमा क्षेत्रमा देखिएको समस्या सामान्य भोगचलन र प्राकृतिक कारणले उत्पन्न भएको ‘क्रस होल्डिङ’ मात्र भएको स्पष्ट गरेका छन्।

श्रेष्ठका अनुसार नेपाल–भारतबीच करिब १,८८० किलोमिटर लामो खुला सीमा छ र नेपालका २७ जिल्लाहरू भारतसँग जोडिएका छन्। यति लामो र खुला सीमाका कारण कतिपय सीमावर्ती क्षेत्रमा दुवै देशका नागरिकले एकअर्काको भूमि खेतीपातीका रूपमा प्रयोग गर्दै आएको अवस्था देखिएको उनले बताए।

“कतिपय स्थानमा नदीको बहाव परिवर्तन हुँदा वा सीमा स्पष्ट रूपमा भौतिक रूपमा नटाँसिँदा नेपाली र भारतीय किसानले एकअर्काको जमिन भोगचलन गरेका छन्,” श्रेष्ठले ,भने “तर यसलाई राज्यस्तरबाट सीमा मिचिएको भन्नु  गलत हो।”

उनले यस्तो अवस्थालाई ‘क्रस होल्डिङ अकुपेसन’ भन्दै यो केवल सीमावर्ती जनताको परम्परागत भोगचलनसँग सम्बन्धित विषय भएको स्पष्ट गरे।

श्रेष्ठका अनुसार नेपाली किसानहरूले केही भारतीय भूमिमा खेतीपाती गर्दै आएका छन् भने भारतीय किसानहरूले पनि नेपालतर्फका केही क्षेत्रमा भोगचलन गरिरहेका छन्। नदीको प्राकृतिक बहाव परिवर्तन र भौगोलिक संरचनाका कारण यस्तो स्थिति बनेको उनको भनाइ छ।

तर उनले भारततर्फबाट भने नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा करिब ३७२ वर्ग किलोमिटर भूभाग तथा नवलपरासीको सुस्तामा करिब १४५ वर्ग किलोमिटर नेपाली भूमि मिचिएको स्पष्ट पारे ।

“नेपालले भारतको कुनै पनि ठूलो भूभाग मिचेको प्रमाण छैन,” श्रेष्ठले भने , “सीमावर्ती क्षेत्रमा भएको सानो स्तरको भोगचलनको समस्या र राज्यले गरेको सीमा अतिक्रमण एउटै विषय होइन।”

उनले सीमा समस्या समाधानको एकमात्र प्रभावकारी उपाय कूटनीतिक वार्ता नै भएको उल्लेख गर्दै दुवै देशले प्राविधिक र ऐतिहासिक आधारमा संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिए  ।

सीमाविद् श्रेष्ठले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति अस्वीकार गर्दै सीमा क्षेत्रमा देखिएको समस्या सामान्य भोगचलन र प्राकृतिक कारणले उत्पन्न भएको ‘क्रस होल्डिङ’ मात्र भएको स्पष्ट गरेका छन्।

२०८३ जेष्ठ १७, आईतवार १७:०० प्रकाशित
ट्रेन्डिङ समाचार