काठमाडौं । प्रशासन सञ्चार नेटवर्क प्रालिद्वारा सञ्चालित प्रशासनपोस्टडटकमको प्रधानसम्पादकमा युवा पत्रकार सागर पण्डित तथा प्रबन्ध निर्देशकमा युवा व्यवस्थापक भानु थोकरलाई नियुक्त गरिएको छ ।
शुक्रबार बसेको प्रशासन सञ्चार नेटवर्क प्रालिको सञ्चालक समिति बैठकले पण्डितलाई प्रधानसम्पादक र थोकरलाई प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।
विगत साढे दुई दशकदेखि निरन्तर पत्रकारितामा सक्रिय पण्डित नेपाली पत्रकारिता क्षेत्रमा अनुभवी, स्पष्टवक्ता र सुशासनमुखी सम्पादकका रूपमा परिचित छन् ।
उनले यसअघि नेपाल समाचारपत्र राष्ट्रिय दैनिक र राजधानी राष्ट्रिय दैनिकमा सम्पादकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् । साथै, अन्नपूर्णपोष्ट र नयाँ पत्रिका दैनिकमा समेत सहसम्पादकको भूमिकामा कार्यअनुभव हासिल गरेका छन् । पण्डितले पत्रकारितामार्फत मुलुकको विकास र समृद्धिमा योगदान पुर्याएको भन्दै सरकारी स्तरबाट राष्ट्रिय पत्रकारिता पुरस्कार तथा विभिन्न विभूषण समेत प्राप्त गरेका छन् ।
पत्रकारिता र राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक पण्डित अधिवक्तासमेत हुन् । पत्रकारिता अध्ययन, अन्तर्राष्ट्रिय तालिम तथा विभिन्न कार्यक्रमका सिलसिलामा उनले भारत, चीन, बेलायत, अजरबैजान र थाइल्यान्डलगायत देशको भ्रमण गरेका छन् ।
नवनियुक्त प्रधानसम्पादक पण्डितले राजनीति र प्रशासनमा देखिएका विकृति, अपारदर्शिता र स्वार्थकेन्द्रित प्रवृत्तिलाई अन्त्य नगरी मुलुकमा सुशासन, विकास र समृद्धि सम्भव नहुने उल्लेख गर्दै प्रशासनपोस्टले यस विषयमा निरन्तर खबरदारी, विश्लेषण र पैरवी गर्ने स्पष्ट पारे
सुशासन, विकास प्रशासन, राजनीति तथा आर्थिक क्षेत्रमा विशेष रुचि र दख्खल राख्ने पण्डितले प्रशासनपोस्टलाई केवल समाचार माध्यमका रूपमा मात्र नभई राज्य, प्रशासन र राजनीतिक नेतृत्वमाथि जवाफदेहिताको दबाब सिर्जना गर्ने सशक्त प्लेटफर्मका रूपमा अघि बढाउने प्रतिबद्धता जनाए ।
नवनियुक्त प्रधानसम्पादक पण्डितले राजनीति र प्रशासनमा देखिएका विकृति, अपारदर्शिता र स्वार्थकेन्द्रित प्रवृत्तिलाई अन्त्य नगरी मुलुकमा सुशासन, विकास र समृद्धि सम्भव नहुने उल्लेख गर्दै प्रशासनपोस्टले यस विषयमा निरन्तर खबरदारी, विश्लेषण र पैरवी गर्ने स्पष्ट पारे । ‘प्रशासन पोस्टको विश्वास छ—सशक्त राष्ट्र निर्माणका लागि सशक्त प्रशासन अपरिहार्य छ।
त्यसैले हाम्रो भूमिका केवल कमजोरी खोज्ने वा आलोचना गर्ने मात्र होइन, असल अभ्यासलाई उजागर गर्ने, सुधारका बहसलाई रचनात्मक बनाउने, नीति निर्माता र प्रशासनबीच संवादको सेतु बन्ने तथा सुशासनको पक्षमा निरन्तर खबरदारी गर्ने पनि हो, पण्डितले भने, ‘हामी नेपाली प्रशासनभित्र रहेका इमानदार, सक्षम र परिणाममुखी कर्मचारीहरूको योगदानलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन चाहन्छौं। प्रशासनलाई निरन्तर आलोचनाको विषय मात्र होइन, राष्ट्रनिर्माणको साझेदारका रूपमा हेरिनुपर्छ । प्रशासन, राजनीति, निजी क्षेत्र, नागरिक समाज र सञ्चार माध्यमबीचको सहकार्यबाट मात्रै सुशासनको लक्ष्य हासिल गर्न सकिन्छ।’
पत्रकारिता सधैं सत्ता र शक्तिको निगरानी गर्ने साहसी माध्यम हुनुपर्छ,’ उनले भने, ‘लोकतन्त्रको वास्तविक पहरेदारका रूपमा पत्रकारितालाई पुनः विश्वसनीय, जिम्मेवार र राष्ट्रप्रति उत्तरदायी बनाउनु आजको आवश्यकता हो।’
पण्डितले सुशासन, लगानीमैत्री वातावरण र पारदर्शिताको संस्कृतिले मात्रै आर्थिक विकासलाई गति दिन सकिने बताउँदै यस यात्रामा सञ्चार क्षेत्रले राज्य, बजार र नागरिकबीच विश्वासको पुल निर्माण गर्नुपर्ने आवश्यकता औल्याए ।
आर्थिक रूपान्तरणको यो चरणमा सरकारको प्रभावकारी नेतृत्व, निजी क्षेत्रको सक्रिय सहभागिता र उत्तरदायी सञ्चार क्षेत्रको समन्वयले मात्रै नागरिकले अपेक्षा गरेको परिणाम दिन सकिने बताउँदै प्रधानसम्पादक पण्डितले भने, ‘जब सरकार उत्तरदायी हुन्छ, निजी क्षेत्र सिर्जनशील हुन्छ र सञ्चारमाध्यम जिम्मेवार हुन्छन्, तब मात्रै समृद्धि नारामा होइन, नागरिकको जीवनमा देखिन्छ।’
पछिल्लो केही सयमयता पत्रकारितामाथि विभिन्न प्रकारका संकट र चुनौती देखिएको स्पष्ट पार्दै उनले सत्य, निष्पक्षता र जनउत्तरदायी पत्रकारिताप्रतिको विश्वास कहिल्यै समाप्त नहुने धारणा व्यक्त गरे । पत्रकारितामाथि लागेको निराशा र अविश्वासको ‘ग्रहण’ चाँडै हट्ने विश्वास व्यक्त गर्दै उनले प्रशासनपोस्टलाई निर्भीक, तथ्यपरक र प्रभावकारी डिजिटल समाचार माध्यमका रूपमा स्थापित गरिने प्रतिबद्धता जनाए।
प्रशासनपोस्टलाई नयाँ उचाइमा पुर्याउने प्रबन्ध निर्देशक थोकरको प्रतिबद्धता
प्रशासन सञ्चार नेटवर्क प्रालिको प्रबन्ध निर्देशकमा नियुक्त भएका थोकर व्यवस्थापन तथा सञ्चार–व्यवस्थापन क्षेत्रका अनुभवी व्यक्तित्वका रूपमा परिचित छन्। उनले राजधानी दैनिकमा आर्थिक प्रशासन प्रमुख तथा अन्नपूर्णपोष्ट राष्ट्रिय दैनिकमा लामो समयसम्म बजार व्यवस्थापकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै सञ्चार तथा व्यवस्थापन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका छन्।
व्यवस्थापन संकायमा स्नातक तहसम्म अध्ययन गरेका थोकरले आफ्नो व्यावसायिक अनुभव, नेतृत्व क्षमता तथा सञ्चार क्षेत्रप्रतिको प्रतिबद्धतामार्फत् प्रशासनपोस्टलाई थप सशक्त, विश्वसनीय तथा प्रभावशाली सञ्चार संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नियुक्तिपछि प्रतिक्रिया दिँदै प्रबन्ध निर्देशक थोकरले प्रशासनपोस्टलाई आधुनिक, व्यावसायिक र पाठकमैत्री सञ्चारमाध्यमका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।
‘प्रशासनपोस्टलाई छिट्टै नयाँ उचाइमा पुर्याउने गरी हामी योजनाबद्ध ढंगले अघि बढ्नेछौँ,’ उनले भने, ‘विश्वसनीयता, निष्पक्षता, व्यावसायिकता र प्रभावकारी प्रस्तुतिमार्फत् प्रशासनपोस्टलाई पाठक, दर्शक तथा सरोकारवालाको पहिलो रोजाइको सञ्चार माध्यम बनाउने हाम्रो लक्ष्य हो।’
उनले डिजिटल पत्रकारिताको तीव्र विस्तारसँगै प्रविधिमैत्री सञ्चार सेवाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै गुणस्तरीय समाचार, तथ्यमा आधारित विश्लेषणात्मक सामग्री तथा नवीन प्रविधिको प्रयोगमार्फत् संस्थाको पहुँच र प्रभावकारिता थप विस्तार गरिने बताए ।
थोकरले सञ्चार क्षेत्रको बदलिँदो परिवेशअनुसार संस्थागत क्षमता अभिवृद्धि गर्दै पाठकको विश्वासलाई केन्द्रमा राखेर पत्रकारितालाई अझ जिम्मेवार, विश्वसनीय र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औल्याए ।
उनले संस्थाको दिगो विकास, सुशासन, व्यावसायिक सफलता तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सम्पूर्ण कर्मचारी, पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरूसँग सहकार्य गरेर संस्थालाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता समेत जनाए ।


