बालेन सरकारद्वारा २१ खर्ब २४ अर्बको रेकर्ड बजेट प्रस्तुत


काठमाडौँ ।आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको आय–व्ययको अनुमान सार्वजनिक गरेका हुन्। यो हालसम्मकै ठूलो बजेट मानिएको छ।

बजेट संरचनाअनुसार चालूतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ (५९.८ प्रतिशत) विनियोजन गरिएको छ। त्यस्तै पुँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ (१९.९ प्रतिशत) छुट्याइएको छ।

यो बजेट चालू आर्थिक वर्षको संशोधित अनुमानभन्दा करिब २५ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। त्यस वर्ष चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड (६०.१ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड (२०.८ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड (१९.१ प्रतिशत) विनियोजन गरिएको थियो।

तर २०८२ भदौको जेनजी प्रदर्शनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बजेट कार्यान्वयन सुशीला कार्की नेतृत्वको सरकारले अघि बढाएको थियो। त्यसपछि अर्थमन्त्री रामेश्वर खनालले अर्धवार्षिक समीक्षामार्फत खर्च क्षमतामा कमी आउने संशोधित अनुमान प्रस्तुत गरेका थिए।

अर्धवार्षिक समीक्षाअनुसार चालू आर्थिक वर्षमा कुल विनियोजनको ८५.९६ प्रतिशत मात्रै खर्च हुने अनुमान गरिएको छ, जसअनुसार कुल खर्च १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँ रहनेछ।

त्यसैगरी सरकारले ६ प्रतिशत आर्थिक वृद्धि र ५.५ प्रतिशत मुद्रास्फीति नियन्त्रणको लक्ष्य संशोधित रूपमा राखेको छ। संशोधित खर्च संरचनाअनुसार चालूतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड ९४ लाख (९५.३४ प्रतिशत), पुँजीगततर्फ २ खर्ब ४३ अर्ब ३० करोड ३४ लाख (५९.६५ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब १९ अर्ब ४ करोड ३९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

२०८३ जेष्ठ १५, शुक्रबार १८:०० प्रकाशित
ट्रेन्डिङ समाचार