काठमाडौं । बाराको सदरमुकाम कलैया स्थित जिल्ला प्रहरी कार्यालय अगाडि किन्नर तथा यौनिक–लैङ्गिक अल्पसंख्यक समुदायबीचको आन्तरिक विवाद उग्र बनेपछि केही समय तनावपूर्ण अवस्था सिर्जना भएको छ।
समुदायका दुई पक्षबीच चल्दै आएको विवादका क्रममा शान्ति–सुरक्षामा खलल पु¥याएको आरोपमा प्रहरीले एक जना किन्नरलाई नियन्त्रणमा लिएपछि विरोध प्रदर्शन सुरु भएको हो। पक्राउ परेका व्यक्तिलाई बिनासर्त रिहा गर्न माग गर्दै ठूलो संख्यामा समुदायका सदस्यहरू प्रहरी कार्यालय अगाडि भेला भई नाराबाजी गरेका थिए।
प्रदर्शनका क्रममा केही व्यक्तिले अर्धनग्न भएर समेत प्रदर्शन गरेका थिए। स्थिति चर्किंदै जाँदा प्रदर्शनकारीहरूले जिल्ला प्रहरी कार्यालयको परिसर प्रवेश गर्ने प्रयास गरेपछि सुरक्षा अवस्था बिग्रिएको थियो।
अवस्था नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो, जसका क्रममा केही प्रदर्शनकारी सामान्य घाइते भएको बताइएको छ। झडपपछि कलैयाको सुरक्षा व्यवस्था कडा पारिएको छ भने हाल अवस्था पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।


