झापाको बालुवाटार जग्गा प्रकरणमा पुरीसहित नौ जना भ्रष्टाचारमा दोषी ठहर


काठमाडौं । विशेष अदालतले झापाको बालुवाटारको जग्गा प्रकरणमा माओवादी नेता गगन पुरीसहित नौ जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले दुईजना जग्गाधनीसँगै मालपोत र नापीका कर्मचारीलाई दोषी ठहर गर्दै जरीवाना र कैदको फैसला सुनाएको हो ।

पुरीलाई मुख्य अभियुक्त ठहर गर्दै विशेष अदालतले एक वर्ष कैद र २० लाख ८३ हजार ६ सय ७१ रुपैयाँ जरीवाना ठहर गरेको छ । सरकारी जग्गा व्यक्तिको नाममा सार्ने गिरोह सञ्चालन गरेको अभियोगमा पुरी दोषी ठहर भएका हुन् ।

२ वटा मुद्दामा गरी १३ जना सरकारी कर्मचारीलाई प्रभावमा पारी उनले सार्वजनिक पर्ती जग्गा व्यक्तिमा नाममा सार्ने धन्दा चलाएको विशेष अदालतले ठहर गरेको छ ।

अदालतले नापी कार्यालय झापाका तत्कालीन प्रमुख नापी अधिकृत शशिकान्त झा, सर्वेक्षक सीताराम यादव, विन्देश्वर पञ्जियार, नापी अधिकृत रामदेव मण्डल धानुक, सर्वेक्षक विष्णुदेव यादव, अमिन ललितकुमार मण्डल, नायब सुब्बा रुद्रप्रसाद श्रेष्ठ, सर्वेक्षक रामकुमार दास र सर्वेक्षक गणेशकुमार धिमालको प्रत्यक्ष संलग्नतामा सरकारी जग्गा व्यक्तिको नाममा पुगेको ठहर गरेको छ । अदालतले उनीहरुलाई एक वर्षदेखि तीन महिनासम्म कैद र जरीवाना ठहर गरेको छ ।

२०८२ श्रावण २९, बिहीबार १०:०७ प्रकाशित
ट्रेन्डिङ समाचार