ADVERTISEMENT

नेपाल–रुस परामर्श बैठकमा सहकार्य विस्तारदेखि रुसी सेनामा भर्ती विषयसम्म छलफल

काठमाडौँ । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौँमा हुँदैछ। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राई र रुसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहेका रुसी उपविदेशमन्त्री आन्द्रेई रुडेन्कोले गर्नेछन्।

बैठकमा नेपाल–रुस सम्बन्धको समग्र समीक्षा गर्दै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति र प्राविधिक सहयोग विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिला र बहुपक्षीय मञ्चमा सहकार्यका विषय पनि बैठकमा उठ्नेछन्।

रुडेन्कोले मंगलबार काठमाडौँमा आयोजित ‘ओपन डाइलग’मा नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै आवश्यक सहयोग गर्न रुस तयार रहेको बताएका थिए। उनले आगामी शैक्षिक वर्षमा नेपाली विद्यार्थीका लागि रुसमा ५२ छात्रवृत्ति कोटा उपलब्ध गराउने जानकारीसमेत दिए।

रुडेन्कोको नेपाल भ्रमणका क्रममा नेपाली नागरिक रुसी सेनामा भर्ती भएको, बेपत्ता तथा मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति लगायतका विषयमा पनि नेपाली पक्षले छलफल गर्ने अपेक्षा गरिएको छ। नेपाल र रुसले कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष मनाइरहेका बेला यो बैठक हुन लागेको हो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार