ADVERTISEMENT

केन्द्रिय सदस्यमा निमा गिरीको उम्मेदवारी किन ? गिरी भन्छिन् – सत्य, निष्ठा, सुशासन र नयाँ पुस्ताको आवाज बुलन्द गर्न

कांग्रेसभित्र कतिपयले उनलाई सत्य र निष्ठाका लागि सम्झौता नगर्ने तथा आवश्यक पर्दा पार्टीभित्रैबाट पनि विद्रोही स्वर उठाउन पछि नपर्ने नेतृका रूपमा हेर्ने गरेका छन्। कतिपयले उनको राजनीतिक शैलीमा कांग्रेसकी पुरानी नेतृ शैलजा आचार्यको सत्य र निष्ठाप्रतिको अडानको झल्कोसमेत देख्ने गरेका छन्


काठमाडौं । सत्य, निष्ठा, पारदर्शिता र सुशासनलाई राजनीतिको मूल आधार बनाउनुपर्ने आवाज उठाउँदै आएकी नेपाली कांग्रेसकी नेतृ निमा गिरीले कांग्रेसको जारी १५औँ महाधिवेशनमा महिला खुलातर्फ केन्द्रिय सदस्यमा उम्मेदवारी दिएकी छिन्।

लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सहमहामन्त्रीसमेत रहेकी गिरी कांग्रेसभित्र निरन्तर संघर्ष गर्दै आएकी एजेण्डामुखी नेतृका रूपमा परिचित छिन्। पद र प्रतिष्ठाभन्दा राजनीतिको माध्यमबाट समाजमा परिवर्तन ल्याउनुपर्ने मान्यता राख्ने गिरीले प्रदेश सभादेखि पार्टी संगठनसम्म सुशासन, पारदर्शिता, सामाजिक न्याय र नयाँ पुस्ताको सहभागिताका विषयलाई निरन्तर उठाउँदै आएकी छिन्।

प्रदेश सभामा उनले ‘मेरो विद्यालय, मेरो दायित्व’, प्रदेश आयोजना बैंक, संस्थागत स्मृति हस्तान्तरण, जेनजी पुस्तालाई रोजगारीमा प्राथमिकता, सुशासन ऐनको कार्यान्वयन तथा कारागार र बालसुधार गृह सुधारजस्ता विषयलाई निरन्तर एजेण्डा बनाउँदै आएकी छिन्।

उनले उठाएका कतिपय एजेण्डाले प्रदेशको नीतिगत तहमा समेत स्थान पाउँदै गएका छन्। उनकै निरन्तर पहलसँग जोडिएको प्रदेश विकास परिषद् गठन त्यसको एउटा उदाहरणका रूपमा प्रस्तुत गरिन्छ।

गिरीले प्रदेश सभामा सुशासन र पारदर्शिताका साथै सामाजिक तथा कल्याण, कानून, सुरक्षा तथा सुधार, सामाजिक अभियान र नवप्रवर्तनका विषयमा पनि सक्रिय रूपमा आवाज उठाउँदै आएकी छिन्।

‘राजनीतिमा पुस्तान्तरण चाहिन्छ, तर सुशासनबिना होइन’

समसामयिक राजनीतिक र सामाजिक विषयमा निरन्तर अपडेट रहने गिरी नयाँ पुस्ताको राजनीतिक सहभागिता र पुस्तान्तरणको पक्षमा छिन्। विशेषगरी जेनजी पुस्ताले उठाएका सवाललाई राजनीतिले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने उनको धारणा छ।तर पुस्तान्तरण केवल अनुहार परिवर्तनमा सीमित हुन नहुने उनको स्पष्ट मत छ।उनका अनुसार राजनीतिमा पुस्तान्तरणसँगै सुशासन, विधि, पद्धति, पारदर्शिता र जवाफदेहिता स्थापित हुनुपर्छ।राजनीतिमा देखिएका विकृति र कुशासन हटाउँदै राजनीतिलाई पुनः पवित्र समाजसेवाको माध्यम बनाउनु आफ्नो प्रमुख लक्ष्य रहेको गिरी बताउँछिन्।

कांग्रेसभित्र कतिपयले उनलाई सत्य र निष्ठाका लागि सम्झौता नगर्ने तथा आवश्यक पर्दा पार्टीभित्रैबाट पनि विद्रोही स्वर उठाउन पछि नपर्ने नेतृका रूपमा हेर्ने गरेका छन्। कतिपयले उनको राजनीतिक शैलीमा कांग्रेसकी पुरानी नेतृ शैलजा आचार्यको सत्य र निष्ठाप्रतिको अडानको झल्कोसमेत देख्ने गरेका छन्।

‘भूइँमान्छेको आवाज राजनीतिमा सुनिनुपर्छ’

गिरीको राजनीतिको अर्को महत्वपूर्ण आधार विपन्न, गरिब, श्रमिक तथा दिनदुःखी नागरिकको पक्षमा आवाज उठाउनु हो।

राजनीति सीमित व्यक्ति र शक्तिको पहुँचमा मात्र केन्द्रित हुन नहुने भन्दै उनले भूइँमान्छेका समस्या, अपेक्षा र आवाजलाई राजनीतिको केन्द्रमा ल्याउनुपर्ने धारणा राख्दै आएकी छिन्।

उनका लागि राजनीति केवल निर्वाचन जित्ने माध्यम होइन, नागरिकको जीवनमा परिवर्तन ल्याउने जिम्मेवारी हो।

‘राजनीति समाजसेवा बन्नुपर्छ’ भन्ने मान्यतालाई उनले आफ्नो राजनीतिक यात्राको मूल आधार बनाएकी छिन्।

‘मेरो उम्मेदवारी तपाईंहरूको आफ्नै उम्मेदवारी मानिदिनुस्’

केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवारीको औचित्यबारे प्रष्ट पार्दै गिरीले आफूले आफ्नो सम्पूर्ण समय राजनीतिमा लगाउँदै आएको बताएकी छिन्।

“म राजनीतिलाई सधैँ समाजसेवामा बदल्ने र राजनीतिकमार्फत मुलुकमा सुशासन तथा पारदर्शिता स्थापित गरी विकास र समृद्धिको बहार सिर्जना गर्न राजनीतिमा लागेको हुँ,” गिरीले भनेकी छिन्।

चुनावी मैदानमा रहेकी गिरीले कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई आफ्नै परिवारको सदस्यका रूपमा सम्झेर साथ दिन आग्रह गरेकी छिन्।

“आफ्नो साथी, बैनी, छोरी, दिदी र अनवरत मैदानमा लडिरहेको एक महिला योद्धाका रूपमा सधैँ साथ र सहयोग गर्नुभएको छ। म तपाईंहरूमाझ पुग्न सकूँला, नसकूँला, मेरो उम्मेदवारीलाई तपाईंहरूको आफ्नै उम्मेदवारी मानेर सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,” उनले भनेकी छिन्।

कांग्रेसको केन्द्रिय नेतृत्वमा पुग्ने होडमा धेरै अनुहार मैदानमा रहे पनि गिरीले भने सत्य, निष्ठा, सुशासन, पारदर्शिता, पुस्तान्तरण र भूइँमान्छेको आवाजलाई आफ्नो उम्मेदवारीको आधार बनाएकी छिन्।

अब कांग्रेस महाधिवेशन प्रतिनिधिको निर्णयले गिरीजस्ता एजेण्डामुखी र संघर्षशील महिला नेतृलाई पार्टीको केन्द्रिय नेतृत्वमा कति स्थान दिन्छ भन्ने चासोको विषय बनेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार