मुस्ताङ । रसुवागढी नाका बाढीका कारण प्रभावित भएपछि चीनसँगको व्यापारका लागि मुस्ताङको कोरला नाकामा चहलपहल बढेको छ। पछिल्लो समय चीनबाट आयात हुने विद्युतीय सवारीसाधन (ईभी), घरायसी सामग्री, कपडा, जुत्ता तथा चाडपर्व लक्षित सामान बोकेका कन्टेनरको आवागमन बढेको हो।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा कोरला नाकाबाट ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ। साउनमा १०० वटा मात्रै ईभी आयात भएकोमा भदौमा १ हजार २२३ वटा पुगेका छन्। ईभीबाट मात्रै २ अर्ब ११ करोड ३० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।
त्यस्तै, साउनमा ५७ वटा मालवाहक कन्टेनर प्रवेश गरेकोमा भदौमा ६९७ वटा पुगेका छन्। व्यापारिक गतिविधि बढेसँगै उपल्लो मुस्ताङका स्थानीय पसल, ढुवानी तथा मजदुरी क्षेत्रमा समेत आर्थिक गतिविधि बढेको छ।
कोरला नाका सन् १९६० को दशकदेखि लामो समय बन्द रहेपछि नेपाल–चीन व्यापार विस्तार गर्ने उद्देश्यले २०८० कात्तिक २७ गते औपचारिक रूपमा उद्घाटन गरिएको थियो। गत आर्थिक वर्षमा यस नाकाबाट ६ अर्ब ९१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो।
रसुवागढी नाका प्रभावित भएपछि कोरला नाका चीनसँगको उत्तरी व्यापारका लागि महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा देखिएको छ।

प्रतिक्रिया