काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा पर्याप्त निक्षेप र तरलता भए पनि कर्जा विस्तार भने सुस्त देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा–निक्षेप अनुपात ७१.७८ प्रतिशत र सीडी रेसियो ७१.२३ प्रतिशत छ।
बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८२ खर्ब ८८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। तर असारको तुलनामा साउनमा निक्षेप २२ अर्ब ४७ करोड रुपैयाँले घटेको छ। वाणिज्य बैंकको कर्जा तथा सापटी पनि एक महिनामा ७ अर्ब ५१ करोड रुपैयाँले घटेर करिब ५९ खर्ब ४९ अर्ब रुपैयाँमा सीमित भएको छ।
कर्जाको ब्याजदर घटेर वाणिज्य बैंकमा ६.४८ प्रतिशतमा आए पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न सकेको छैन। यसबीच बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात ५.६६ प्रतिशत पुगेको छ, जसले नयाँ कर्जा विस्तारसँगै पुरानो कर्जाको गुणस्तर र असुली चुनौतीसमेत बढाएको छ।
राष्ट्र बैंकको तथ्यांकले बैंकिङ प्रणालीमा स्रोतको अभावभन्दा उपलब्ध स्रोत परिचालनको समस्या बढी देखाएको छ। निक्षेप जीडीपीको १२५.५९ प्रतिशत पुगे पनि कर्जा जीडीपीको ९०.१५ प्रतिशत मात्र छ। यसले बैंकमा संकलित ठूलो स्रोत उत्पादन, व्यवसाय तथा नयाँ लगानीमा अपेक्षित रूपमा परिचालन हुन नसकेको देखाउँछ।

प्रतिक्रिया