वाग्ले–सीतारमण भेटवार्ता, नेपाल–भारत व्यापार सहजीकरणमा जोड


नयाँ दिल्ली ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गर्दै नेपाल–भारत आर्थिक सम्बन्ध, व्यापार तथा सीमापार कनेक्टिभिटी सुदृढ बनाउने विषयमा छलफल गरेका छन्।

वाग्लेको भारत भ्रमणकै क्रममा सेप्टेम्बर १६–१७ मा नयाँ दिल्लीमा नेपाल–भारत अन्तरसरकारी उपसमिति (आईजीएससी) को बैठक पनि सम्पन्न भएको छ। बैठकमा व्यापार, पारवहन तथा अनधिकृत व्यापार नियन्त्रणसँग सम्बन्धित विषयमा विस्तृत छलफल भएको भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएको छ।

बैठकमा बजार पहुँच, भन्सार तथा व्यापार सहजीकरण, खाद्य सुरक्षा, औषधि, मेडिकल उपकरण, आयुषजन्य उत्पादन, सीमा पूर्वाधार तथा रेल र सडक कनेक्टिभिटीका विषयमा छलफल भएको थियो। दुवै पक्षले भन्सार प्रक्रियाको स्वचालन, विद्युतीय रूपमा उत्पत्तिको प्रमाणपत्र प्रमाणीकरण तथा पूर्वआगमन सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउने विषयमा समेत सहमति जनाएका छन्।

अर्थमन्त्री वाग्ले र सीतारमणबीचको भेटमा भने नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा भारतको सहयोगका साथै द्विपक्षीय आर्थिक सम्बन्ध र पूर्वाधार विकासबारे छलफल भएको थियो।

अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि वाग्लेको यो पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार