प्राकृतिक विपद्बाट जीडीपीको ६ प्रतिशत क्षति : योजना आयोग


काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले पछिल्लो प्राकृतिक विपद्बाट नेपालले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ६ प्रतिशत बराबरको आर्थिक क्षति व्यहोरेको बताएका छन् ।

शुक्रबार आयोजित राष्ट्रिय वित्तीय साक्षरता कार्यक्रममा बोल्दै उनले भूकम्पबाहेकका प्राकृतिक विपद्बाट नेपालले यसअघि वार्षिक औसत दुई प्रतिशत बराबरको क्षति व्यहोर्दै आएको बताए । पछिल्लो विपद्बाट करिब चार खर्ब रुपैयाँको क्षति तथा नोक्सानी भएको उपलब्ध तथ्यांकले देखाएको उनको भनाइ छ ।

भट्टले प्राकृतिक विपद् र जलवायु परिवर्तनबाट उत्पन्न जोखिमलाई वित्तीय साक्षरतासँग जोड्नुपर्ने आवश्यकता औँल्याए । वित्तीय सेवा तथा साक्षरता कार्यक्रमलाई पछाडि परेका क्षेत्र, समुदाय र महिला उद्यमीसम्म पुर्‍याउँदै जलवायु तथा विपद्जन्य जोखिमबारे जानकारी दिनुपर्ने उनले बताए ।

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले नेपालमा वित्तीय क्षेत्रमा ठूलो सम्भावना भए पनि वित्तीय साक्षरताको कमीका कारण त्यसको पूर्ण उपयोग हुन नसकेको बताए ।

उनले वित्तीय साक्षरता जोखिम व्यवस्थापनमा मात्र नभई अर्थतन्त्रमा पैसाको प्रवाह र आर्थिक गतिविधि बढाउनसमेत महत्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार