बीआरआई ग्लोबल साउथका लागि महत्वपूर्ण परियोजना : अध्यक्ष दाहाल


काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजना भएको बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार ‘ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करण विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले बीआरआईले विश्वका विभिन्न क्षेत्रलाई जोड्ने तथा सहकार्य र समृद्धिको आधार निर्माण गर्ने बताउनुभयो ।

उहाँले करिब १४ सय वर्षअघि चिनियाँ बौद्ध भिक्षु ह्वेनसाङले विभिन्न भूभागबीच सम्पर्क स्थापित गरेको प्रसंग उल्लेख गर्दै आजको समयमा बीआरआईमार्फत सडक तथा पूर्वाधार सञ्जाल विस्तार गरी विश्वलाई जोड्ने प्रयास भइरहेको बताउनुभयो ।

अध्यक्ष दाहालले बीआरआईलगायतका सहकार्यले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन सक्ने उल्लेख गर्नुभयो । उहाँका अनुसार नेपाल र चीनबीच व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि तथा जनस्तरको सम्बन्धमा उल्लेखनीय प्रगति भएको छ ।

उहाँले चीन नेपालका लागि असल छिमेकीसँगै महत्वपूर्ण लगानीकर्ता तथा विकास साझेदार रहेको बताउँदै इतिहास र परम्पराको अध्ययनसँगै वर्तमान सहकार्यले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार