काठमाडौं । प्रधानसेनापति महारथी अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणपछि बेलायतको औपचारिक भ्रमणमा जाने भएका छन्। उनको बेलायत भ्रमणसम्बन्धी प्रस्तावलाई भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ।
प्रधानसेनापति सिग्देल भदौ २८ गते चीन प्रस्थान गरेका थिए। नेपाली सेनाका अनुसार उनले असोज ३ गते (सेप्टेम्बर १९) चीन भ्रमण पूरा गरी स्वदेश फर्किने कार्यक्रम छ।
चीन भ्रमणका क्रममा उनले चिनियाँ उच्च सैनिक अधिकारीसँग द्विपक्षीय सैनिक सम्बन्ध, तालिम तथा क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, मानवीय सहायता र शान्ति स्थापनालगायतका विषयमा छलफल गरिरहेका छन्।
चीनबाट फर्किएपछि बेलायत जाने तयारीमा रहेका सिग्देलले बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता गर्नुका साथै विभिन्न सैनिक प्रतिष्ठानको अवलोकन गर्ने स्रोतले जनाएको छ। भ्रमणको निश्चित मिति, भ्रमण दल र विस्तृत कार्यतालिका भने सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया