अस्ट्रेलियामा विद्यार्थीका परिवारको भिसामा कडाइ


काठमाडौं। अस्ट्रेलिया सरकारले आप्रवासन नियन्त्रण गर्ने योजनाअन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारका सदस्यलाई दिइने भिसामा कडाइ गर्ने भएको छ।

गृह मामिलामन्त्री टोनी बर्कले राष्ट्रिय प्रेस क्लबलाई सम्बोधन गर्दै चालू आर्थिक वर्षमा शुद्ध विदेशी आप्रवासन २ लाख ४५ हजारमा सीमित गर्ने र सन् २०२७–२८ सम्म २ लाख २५ हजारमा झार्ने लक्ष्य रहेको बताएका छन्।

नयाँ व्यवस्थाअनुसार अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीले आफ्नो भिसाको अवधि बाँकी रहे पनि विगतमा जस्तै परिवारका सदस्यलाई स्वतः अस्ट्रेलिया ल्याउन पाउने छैनन्। सन् २०२५–२६ मा जारी ३ लाख ३७ हजार ४२७ विद्यार्थी भिसामध्ये ४५ हजार ९९१ भिसा विद्यार्थीका आश्रित तथा परिवारका सदस्यलाई जारी गरिएको सरकारी तथ्यांक छ।

यद्यपि, यसअघि नै परिवारलाई भिसामा समावेश गरिसकेका विद्यार्थी, प्यासिफिक तथा आसियान मुलुकका विद्यार्थी र पीएचडी अध्ययनरत विद्यार्थीलाई नयाँ प्रतिबन्धबाट छुट दिइने बर्कले बताएका छन्।

भिसा अवधि सकिएपछि पनि अस्ट्रेलियामा बसिरहने तथा भिसा प्रणालीको दुरुपयोग गर्नेहरूमाथि समेत सरकारले कडाइ गर्ने भएको छ। त्यस्ता व्यक्तिको अनुगमनका लागि थप १०० जना अधिकारी नियुक्त गर्ने योजना सरकारले अघि सारेको छ।

यससँगै निर्माण, कृषि लगायत आवश्यक क्षेत्रमा दक्ष श्रमिकलाई प्राथमिकता दिने तथा ‘वर्क एन्ड होलिडे’ भिसा कार्यक्रमलाई व्यवस्थित गर्ने सरकारको योजना छ

प्रतिक्रिया

ट्रेन्डिङ समाचार