काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। संविधानको धारा २९४ बमोजिम प्रमुख आयुक्त राईले बिहीबार प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
आयोगका अनुसार आव २०८२/८३ मा नयाँ दर्ता भएका ३३ हजार ५१९ र अघिल्लो आवबाट जिम्मेवारी सरेका ७ हजार ३२३ गरी कुल ४० हजार ८४२ उजुरी कायम थिए। तीमध्ये ३२ हजार ८२३ अर्थात् ८०.३७ प्रतिशत उजुरी स्क्रिनिङ तथा प्रारम्भिक छानबिनबाट फर्स्योट भएका छन्। बाँकी ८ हजार १९ उजुरी आगामी आर्थिक वर्षका लागि जिम्मेवारी सरेका छन्।
कुल उजुरीमध्ये स्थानीय तहसँग सम्बन्धित ४९.०३ प्रतिशत, सङ्घीय सरकारसँग ३७.९८ प्रतिशत र प्रदेश सरकारसँग सम्बन्धित १२.९९ प्रतिशत रहेका छन्।
सङ्घीय मन्त्रालयतर्फ सबैभन्दा बढी भूमिसुधार, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित ३ हजार ३६ उजुरी परेका छन्। त्यसपछि शिक्षा तथा खेलकुद मन्त्रालयमा १ हजार ९८३, गृहमा १ हजार ७५७, पूर्वाधार विकासमा १ हजार ९५ र अर्थ मन्त्रालयमा ८६७ उजुरी परेको आयोगले जनाएको छ।

प्रतिक्रिया