अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहान ७ः३५ बजेको उडानबाट दिल्ली गएका हुन्।

भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माण तथा नेपाल–भारतबीचको आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्यका विषयमा छलफल हुने जनाइएको छ। वाग्लेले बिहीबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

शुक्रबार उनले पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउने तथा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्। त्यसै दिन भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने भेटघाट कार्यक्रममा पनि सहभागी हुनेछन्।

शनिबार वाग्लेले भारतीय उद्योग परिसंघको सम्मेलन र दिल्ली स्कुल अफ इकोनोमिक्सको विकास अर्थनीतिसम्बन्धी छलफलमा प्रमुख वक्ता तथा अतिथिका रूपमा सहभागिता जनाउने कार्यक्रम छ। उनी शनिबार साँझ नेपाल फर्कनेछन्।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार