१ असोजदेखि सार्वजनिक सवारी दर्ता खुला


काठमाडौं । सरकारले १ असोजदेखि सार्वजनिक सवारीसाधनको दर्ता खुला गरेको छ। यातायात व्यवस्था विभागका अनुसार हाललाई काठमाडौं उपत्यका बाहेकका क्षेत्रमा विद्युतीय सार्वजनिक सवारीसाधन (ईभी) लाई प्राथमिकता दिँदै दर्ता खुला गरिएको हो।

काठमाडौं उपत्यकामा भने स्कुल बस र सट्टाभर्ना गर्न चाहने सवारीसाधनका लागि मात्र दर्ता खुला गरिएको विभागले जनाएको छ। सोहीअनुसार सवारी दर्ता गर्न विभागले सबै प्रदेश सरकारलाई सूचित गरेको छ।

सरकारले ७ जेठ २०८३ देखि सार्वजनिक सवारीसाधनको दर्ता रोक्दै आएको थियो। दर्ता रोक्नुको कारण र पुनः खुला गर्नुको निर्णयबारे विभागले स्पष्ट जानकारी दिएको छैन।

विभागका निर्देशक मणिराम भुसालले काठमाडौं उपत्यकाभित्रको रुट तथा सवारी व्यवस्थापनलाई ध्यानमा राख्दै उपत्यका बाहिर मात्र सार्वजनिक सवारी दर्ता खुला गरिएको बताए।

यसअघि विभागले १८ साउनदेखि मालवाहक सवारीसाधनको दर्ता खुला गरिसकेको थियो। साथै, ८ असारसम्म एलसी खोलिसकेका र नेपाल आइसकेका सार्वजनिक सवारीसाधनसमेत दर्ता गरिएको थियो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार