तीन दिन प्रमुख नदीमा जलसतह बढ्ने, साना नदीमा बाढीको जोखिम


काठमाडौँ । आगामी तीन दिन देशका अधिकांश प्रमुख नदीमा जलसतह उल्लेखनीय रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल भने प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ।

भदौ ३१ देखि असोज २ गतेसम्म कोशी, नारायणी, महाकालीलगायत नदी तथा तिनका सहायक नदीमा जलसतह बढ्ने सम्भावना छ। कर्णाली, बागमती, कन्काई, कमला, बबई र राप्ती नदीमा पनि बहाव बढ्ने अनुमान गरिएको छ।

आज ताप्लेजुङ, संखुवासभा, भोजपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, कास्कीलगायत जिल्लाका साना नदीमा बहाव उल्लेख्य बढ्न सक्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

महाशाखाले भोलि सुदूरपश्चिम, लुम्बिनी र मधेश तथा असोज २ गते कोशी र मधेश प्रदेशका केही साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार