काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा राइड शेयरिङ सेवाबाट ९ करोड २७ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) संकलन भएको छ।
आन्तरिक राजस्व विभागका अनुसार सो अवधिमा राइड शेयरिङ सेवाबाट ३० लाख १५ हजार रुपैयाँ टीडीएससमेत संकलन भएको छ। सरकारले चालु आर्थिक वर्षदेखि राइड शेयरिङ सेवामा ५ प्रतिशत भ्याट र राइडरले प्राप्त गर्ने रकममा १.५ प्रतिशत टीडीएस लाग्ने व्यवस्था गरेको छ।
साउनमा ८ वटा राइड शेयरिङ प्लेटफर्मले राजस्व कार्यालयमा विवरण बुझाएका छन्। उनीहरूका अनुसार उक्त महिनामा १ अर्ब ८५ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने ५ हजार ८५८ जना राइडर संलग्न छन्।
तर, विभागले प्रस्तुत विवरणमा राइडरको संख्या र आम्दानी अस्वाभाविक देखिएको जनाएको छ। औसतमा एक राइडरले एक महिनामा ३ लाख १६ हजार रुपैयाँभन्दा बढीको सेवा दिएको देखिनु व्यवहारिक नभएको विभागको भनाइ छ।
त्यस्तै, कुल १ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा राइडरले जम्मा १९ करोड ६४ लाख रुपैयाँ मात्रै प्राप्त गरेको विवरण पेश गरिएको छ। यसले कुल कारोबारको करिब १० प्रतिशत मात्रै राइडरलाई गएको देखाउँछ।
विभागले टीडीएस छल्न राइडरको संख्या तथा आम्दानी कम देखाइएको हुनसक्ने आशंका गर्दै यस विषयमा अनुसन्धान गर्ने जनाएको छ।

प्रतिक्रिया