फिनटेक विकासका लागि राष्ट्र बैंकको पाँचवर्षे रणनीति


काठमाडौं। नेपाल राष्ट्र बैंकले फिनटेक क्षेत्रको विकास र डिजिटल वित्तीय सेवाको विस्तारका लागि पाँचवर्षे रणनीतिक ढाँचा अघि सारेको छ। ‘फिनटेक रणनीति फर डिजिटल फाइनान्सियल सर्भिसेज’ सन् २०२६/२७ देखि २०३०/३१ सम्म कार्यान्वयन गर्ने प्रस्ताव गरिएको हो।

रणनीतिले डिजिटल पूर्वाधार विकास, नीति–नियमन तथा सुशासन र फिनटेक इकोसिस्टम विकासलाई तीन प्रमुख आधारस्तम्भ बनाएको छ। फिनटेक क्षेत्रमा समान प्रतिस्पर्धाको वातावरण सिर्जना, नयाँ प्रविधिमा आधारित वित्तीय सेवा विकास, डिजिटल सेवाको लागत घटाउने तथा वित्तीय प्रणालीलाई सुरक्षित र जोखिमप्रतिरोधी बनाउने लक्ष्य राखिएको छ।

रणनीतिले ग्रामीण क्षेत्र, महिला, युवा, सूक्ष्म तथा साना–मझौला उद्यम र गिग अर्थतन्त्रमा आबद्ध व्यक्तिलाई डिजिटल वित्तीय सेवाको पहुँच विस्तारमा प्राथमिकता दिएको छ। साथै डिजिटल वित्तीय साक्षरता बढाउने, साइबर जोखिम तथा डिजिटल ठगी नियन्त्रण गर्ने र नियमन तथा सुपरिवेक्षणमा प्रविधिको प्रयोग बढाउने योजना समेटिएको छ।

राष्ट्र बैंकले रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भए सुरक्षित, समावेशी, नवीन, अन्तरआबद्ध र प्रतिस्पर्धी डिजिटल वित्तीय प्रणाली विकास हुने अपेक्षा गरेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार