गोर्खा मागबारे डिसेम्बरसम्म ठोस प्रस्ताव ल्याउने बेलायतको आश्वासन


लन्डन । बेलायत, नेपाल सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिबीच लामो समयपछि सोमबार लन्डनस्थित नेपाली दूतावासमा अनौपचारिक छलफल भएको छ।

बेलायती रक्षा मन्त्रालयका भेट्रान्स तथा पिपुल मामिला मन्त्री काल्भिन बेली र जी–१० आबद्ध १० जना गोर्खा प्रतिनिधिबीच भएको करिब अढाई घण्टा लामो छलफलमा भूतपूर्व गोर्खाका मागलाई डिसेम्बरसम्म टुंगो लगाउने विषयमा छलफल भएको हो।

गोर्खा प्रतिनिधिहरूले रिट्रोस्पेक्टिभ पेन्सन, अफोर्डेबल सोलुसनलगायत लामो समयदेखि उठाउँदै आएका मागमा अब आश्वासन नभई ठोस परिणामसहितको प्रस्ताव ल्याउन बेलायती पक्षसँग माग गरेका थिए। निर्धारित समयसीमाभित्र समाधान नभए आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत उनीहरूले दिएका थिए।

मन्त्री बेलीले गोर्खाहरूको माग समाधानका लागि पहल गर्ने र फेरि आमरण अनसन बस्नुपर्ने अवस्था आउन नदिने गरी चित्तबुझ्दो प्याकेज ल्याउने आश्वासन दिएको सहभागीहरूले बताएका छन्।

बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको पहलमा भएको भेटमा नेपालका तर्फबाट न्यायपूर्ण र दीर्घकालीन समाधानका लागि आग्रह गरिएको थियो। छलफलमा यसअघिका मन्त्रिस्तरीय बैठकका निर्णय, नेपालको सर्वोच्च अदालतको फैसला तथा विगतका आन्दोलनबारे पनि ध्यानाकर्षण गराइएको थियो।

भेटपछि कार्यवाहक राजदूत दुवाडीले भेटघाटले सबै सरोकारवाला पक्षलाई एउटै ठाउँमा आफ्ना धारणा राख्ने वातावरण बनेको र आगामी दिनमा पनि निरन्तर छलफल गर्ने समझदारी भएको बताए।

छलफलमा नेपाल मामिला हेर्ने बेलायती संसदको सर्वदलीय समूह (APPG) की अध्यक्ष सांसद एलेक्स बेकर तथा नेपाली दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहको समेत सहभागिता थियो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार