जहाजको पर्खाइमा चौरजहारी विमानस्थल, आठ वर्षदेखि उडान ठप्प


काठमाडौं ।   रुकुम पश्चिमको चौरजहारी विमानस्थल आठ वर्षदेखि नियमित उडानविहीन बनेको छ। कुनै समय व्यस्त रहने विमानस्थल अहिले सुनसान छ भने धावनमार्ग र परिसरमा घाँस तथा झारपात उम्रिएका छन्।

रुकुम पश्चिमसँगै जाजरकोट र सल्यानका नागरिकलाई हवाई सेवा दिने उद्देश्यले सञ्चालनमा आएको विमानस्थलमा कच्ची धावनमार्ग हुँदा नियमित उडान हुने गरेको थियो। तर धावनमार्ग कालोपत्र गरिएपछि हवाई सेवा नियमित हुन सकेको छैन।

उडान बन्द हुँदा विमानस्थलका संरचना तथा उपकरणसमेत संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्। सडक यातायात कठिन रहेका कारण नियमित हवाई सेवा नहुँदा तीन जिल्लाका नागरिकले लामो सडक यात्राको सास्ती खेप्दै आएका छन्।

स्थानीयले करोडौँ रुपैयाँ लगानी भएको विमानस्थललाई प्रयोगविहीन हुन नदिन तत्काल नियमित उडान सञ्चालन गर्न माग गरेका छन्।

प्रतिनिधिसभा सदस्य गोपाल शर्माले राज्यको असहयोगका कारण विमान सञ्चालनमा समस्या भएको बताए। विमान सञ्चालन गर्दा हुने घाटा स्थानीय तहले व्यहोर्ने विषयमा स्पष्टता नहुँदा समस्या देखिएको उनको भनाइ छ। पछिल्लो समय यस विषयमा पुनः छलफल भइरहेकाले विमानस्थल सञ्चालन हुने सम्भावना बढेको उनले बताए।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार