असोज ७ देखि पोखरा–दुबई दैनिक उडान


पोखरा । लामो प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ। फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई दैनिक उडान सञ्चालन गर्ने भएको हो।

फ्लाइ दुबईको जहाज पहिलोपटक असोज ७ गते साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ भने ७ः१५ बजे पोखराबाट यात्रु लिएर दुबईका लागि प्रस्थान गर्नेछ। यात्रुको चापअनुसार एयरबस ३१९ र ३२० विमान प्रयोग गरिने विमानस्थलले जनाएको छ।

दुबई–पोखरा–दुबई उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाइ दुबईलाई अनुमति दिएको थियो। फ्लाइ दुबई र इमिरेट्सबीचको कोडसेयर साझेदारीका कारण पोखराबाट दुबई हुँदै विश्वका विभिन्न गन्तव्यमा एउटै टिकटबाट यात्रा गर्न सकिनेछ।

पोखरा–दुबई सिधा उडानले गण्डकी प्रदेशलाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्नुका साथै पर्यटन, व्यापार र आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ। विदेशी पर्यटकलाई पोखरा सिधै आउन तथा गण्डकी क्षेत्रका नागरिकलाई वैदेशिक रोजगारी, अध्ययन र भ्रमणका लागि सहज हुने पर्यटन व्यवसायीको विश्वास छ।

फ्लाइ दुबईले सुरुमा एक महिनाका लागि दैनिक एक उडान गर्ने घोषणा गरे पनि सन् २०२७ मार्च २६ सम्मको बुकिङ खुला गरेको जनाएको छ। पहिलो उडानको अवसरमा पोखरा विमानस्थलमा पानीको फोहोरा (वाटर क्यानन) सहित जहाज र यात्रुलाई स्वागत गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार