प्रधानाध्यापक धामी मृत्यु प्रकरण : आठ अभियुक्त धरौटीमा


धनगढी । दार्चुलाका प्रधानाध्यापक बलदेवसिंह धामी मृत्यु प्रकरणमा थुनामा रहेका आठ अभियुक्तलाई उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले धरौटीमा छाड्न आदेश दिएको छ।

उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद भण्डारी र गिरिराज गौतमको संयुक्त इजलासले जिल्ला अदालत दार्चुलाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो।

परमानन्द भट्ट र दलिदत्त भट्टलाई जनही २ लाख, चार जनालाई जनही १ लाख ५० हजार तथा नरेन्द्रदत्त भट्ट र विक्रमसिंह कुँवरलाई जनही १ लाख रुपैयाँ धरौटी तोकिएको छ।

अदालतको आदेश औपचारिक रूपमा जिल्ला कारागार दार्चुलामा पुगिनसकेको र पत्र प्राप्त भएपछि रिहाइ प्रक्रिया अघि बढाइने कारागार प्रशासनले जनाएको छ।

प्रधानाध्यापक धामी गत वैशाखमा विद्यालयमै झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। मृत्यु अघि उनले सामाजिक सञ्जालमा आठै जनाको नाम उल्लेख गर्दै आफूलाई आत्महत्या गर्न बाध्य पारिएको दाबी गरेका थिए। त्यसपछि प्रहरीले उनीहरूलाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेको थियो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार