भोटेकोसी बाढीको वित्तीय असर बीमा र बैंकिङ क्षेत्रमा


काठमाडौं । भोटेकोसी बाढीबाट जलविद्युत् आयोजना, सडक, पुल, प्रसारण संरचना, घर तथा व्यवसायमा ठूलो क्षति पुगेपछि यसको वित्तीय असर बीमा, पुनर्बीमा र बैंकिङ क्षेत्रमा समेत पर्ने देखिएको छ।

इक्रा नेपालको प्रारम्भिक मूल्यांकनअनुसार बाढीबाट १४ वटा जलविद्युत् तथा सौर्य आयोजना प्रभावित भएका छन्। ती आयोजनाको कुल क्षमता करिब ७ सय मेगावाट रहेकोमा करिब ३ सय मेगावाटका आयोजना सञ्चालनमा थिए।

अधिकांश ठूला आयोजना बीमित रहेकाले भौतिक क्षतिको ठूलो हिस्सा बीमाबाट व्यवस्थापन हुन सक्ने देखिए पनि पुनर्बीमा कम्पनीमा थप दाबीको दबाब पर्न सक्ने इक्राको आकलन छ। यही जोखिमका कारण नेपाल पुनर्बीमा कम्पनीको रेटिङ ‘ए’ बाट घटाएर ‘ए–’ कायम गर्दै नकारात्मक निगरानीमा राखिएको छ।

बाढी प्रभावित जलविद्युत् आयोजना तथा स्थानीय व्यवसायको आम्दानी घट्दा बैंक र लघुवित्त संस्थाको कर्जा असुलीमा समेत दबाब पर्न सक्नेछ। यद्यपि कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाजस्ता नियामकीय सुविधा उपलब्ध भए तत्कालै खराब कर्जा ठूलो मात्रामा बढ्ने जोखिम केही कम हुने इक्राको निष्कर्ष छ।

प्रसारण तथा वितरण संरचनामा भएको क्षतिले पुनर्निर्माणमा ढिलाइ भए आगामी सुक्खायाममा विद्युत् आपूर्तिमा समेत दबाब पर्न सक्ने देखिएको छ। इक्राले प्रभावित आयोजनाको पुनर्निर्माण अवधि, बीमा दाबी, पुनर्बीमा भुक्तानी र बैंकिङ कर्जाको गुणस्तरले बाढीको वास्तविक वित्तीय असर निर्धारण गर्ने जनाएको छ।

प्रेस बिज्ञप्ती

Press-Release_Update-on-impact-of-the-recent-devastating-floods-in-Nepal__September-2

प्रतिक्रिया

ट्रेन्डिङ समाचार