काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो एकल लगानीमा सञ्चालित जलविद्युत आयोजनाको बीमा नगर्दा भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिको सम्पूर्ण आर्थिक भार आफैंले व्यहोर्नुपर्ने भएको छ ।
प्राधिकरणका अनुसार बाढीबाट ६० मेगावाटको त्रिशुली–३ ए, २४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट जलविद्युत आयोजनामा गरी प्रारम्भिक रूपमा करिब २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । त्रिशुली–३ ए मा मात्रै १४ अर्ब ५० करोड, त्रिशुलीमा ६ अर्ब र देवीघाटमा करिब पौने ४ अर्ब रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।
प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायु कुमार श्रेष्ठले प्राधिकरणको पूर्ण लगानी रहेका २२ वटै जलविद्युत आयोजनाको बीमा नगरिएको स्वीकार गरे । उनका अनुसार विगतदेखि नै बीमा नगरिएकाले यसपटक पनि आयोजनाको बीमा गरिएको थिएन । प्राधिकरणले आंशिक लगानी गरेका आयोजनाहरू भने बीमित रहेको उनले बताए ।
श्रेष्ठका अनुसार प्राधिकरणका जलविद्युत आयोजना, प्रसारण लाइन तथा अन्य सम्पत्तिको बीमा गर्दा वार्षिक रूपमा अर्बौं रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने भएकाले विगतमा बीमा नगरिएको हो ।
पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले पनि प्राधिकरणको सम्पत्ति ठूलो भएकाले सबै सम्पत्तिको बीमा गर्दा वार्षिक रूपमा ठूलो रकम प्रिमियममा खर्च हुने र सामान्य अवस्थामा हुने क्षति त्यसको तुलनामा कम हुने भएकाले बीमा नगरिएको बताए । उनका अनुसार यस्तो ठूलो क्षति १५–२० वर्षमा एकपटक मात्र हुने भएकाले लामो समयसम्म बीमा गर्दा प्राधिकरणले ठूलो रकम प्रिमियममा खर्च गर्नुपर्ने अवस्था आउँछ ।
तर, निर्जीवन बीमक संघका अध्यक्ष वीरेन्द्रबहादुर बैदरवारले विपद् जुनसुकै बेला आउन सक्ने भएकाले सम्पत्तिको बीमा गर्नु नै जोखिम व्यवस्थापनको उचित उपाय भएको बताए । उनका अनुसार यसपटक तीनवटा आयोजनामा क्षति भएको छ भन्दैमा भविष्यमा पाँच वा १० वटा आयोजनामा ठूलो क्षति नहुने सुनिश्चितता छैन ।
संघका महासचिव सुनिल बल्लभ पन्थले बीमा जोखिम हस्तान्तरण गर्ने माध्यम भएकाले पछिल्लो बाढीबाट ठूलो क्षति भएको घटनाबाट पाठ सिकेर प्राधिकरणले आफ्ना सम्पत्तिको बीमा गर्नुपर्ने बताए । उनका अनुसार पछिल्लो समय विगतको तुलनामा ठूलो बाढीसमेत आउन सक्ने देखिएकाले जोखिमलाई बीमामार्फत हस्तान्तरण गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया